नेपालका लागि युएनएफपिएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहबीच परराष्ट्र मन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
यसअघि एक वर्षसम्म नेपालका लागि युएनएफपिएको अन्तरिम प्रतिनिधिको रूपमा कार्य गरिसकेका श्रीलङ्काको नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिको रूपमा कार्यभार सम्हालेका हुन्।
औपचारिक प्रमाणपत्र बुझ्ने क्रममा मन्त्री खनाल र नवनियुक्त प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबीचको बलियो साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक समानता एवं तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भयो।
साथै, नेपालको बदलिँदो जनसाङ्ख्यिक परिदृश्यलाई सम्बोधन गर्न र समावेशी तथा दिगो विकासका लागि जनसाङ्ख्यिक तथ्याङ्क प्रणाली र विश्लेषणलाई सुदृढ बनाउने महत्त्वमा जोड दिइयो।
त्यसक्रममा परराष्ट्र मन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरूलाई अघि बढाउन र स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न नेपालले युएनएफपिएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिने उल्लेख गरे।
नेपालले बदलिँदो जनसाङ्ख्यिक प्रवृत्तिलाई सम्बोधन गरिरहेको यस अवस्थामा, जनसाङ्ख्यिक परिवर्तन र जनसङ्ख्याको गतिशीलतालाई विकास योजनाहरूमा एकीकृत गर्न युएनएफपिए लगायत साझेदारहरूसँगको रणनीतिक सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
हरिदासले जनसाङ्ख्यिक सूचना एवं ज्ञानलाई सुदृढ गर्न, महिला, किशोरी र युवाहरूको अधिकार तथा छनोटको रक्षा गर्न, र जनसङ्ख्याको गतिशीलताले समावेशी एवं दिगो विकासमा योगदान पुर्याउने कुरा सुनिश्चित गर्न नेपाल सरकारसँगको युएनएफपिएको साझेदारीलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको समेत उल्लेख गरे।
युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। यसले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार ल्याउन, लैङ्गिक समानताको प्रवर्द्धन गर्न, युवाहरूलाई सशक्त बनाउन, जनसङ्ख्या तथ्याङ्क प्रणालीलाई सुदृढ गर्न र विकासको मूल प्रवाहमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न राष्ट्रिय प्रयासहरूमा सहयोग पुर्याउँदै आएको छ।