स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
बुधबार बिहान म्याड्रिडबाट सेभिया गइरहेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएको बिबिसीले जनाएको छ।
यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीपछि मानवीय त्रुटि हुँदा दुर्घटना भएको हो। यो दुर्घटना आधुनिक युरोपेली इतिहासकै सबैभन्दा गम्भीर रेल दुर्घटनामध्ये एक हो। साथै, १३ वर्षयता स्पेनमा भएको सबैभन्दा घातक रेल दुर्घटना पनि हो।
दुर्घटनाबाट बाँचेकाहरूले यात्रुहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको हृदयविदारक दृश्य सुनाएका छन्।
बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो।
यातायातमन्त्री पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रोकिएको रेलमा १४७ यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल ट्र्याकमै रोकिएको थियो।
प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको उनले बताए। तर, नियन्त्रण केन्द्रले कुनै गति सीमा नतोकी रेलहरूलाई पुनः चल्न निर्देशन दिने ‘अस्पष्ट र बुझ्न नसकिने’ निर्णय गरेको उनले बताए।
इरियोले आफ्नो रेललाई स्पेनको सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। रेन्फेको रेलमा ३९७ यात्रु सवार थिए।
रेन्फेको रेलमा यात्रा गरिरहेका ६२ वर्षीय साल्भाडोर अरिजाले दुर्घटनाको ठक्करलाई ‘भयानक’ बताए।
यात्रुहरू बाहिर निस्कन झ्याल फुटाउन थालेको उनले रोयटर्सलाई बताए। ‘केही मानिस सिटहरूबीच फसेकाले चल्नसमेत सकिरहेका थिएनन्,’ उनले भने।
रेलका एउटा डिब्बामा आगलागीसमेत भएको थियो। फसेका मानिस चिच्याइरहेको, रगताम्य भएको र केही यात्रु भग्नावशेषमुनि पुरिएको दर्दनाक दृश्य यात्रुहरूले सुनाएका छन्।
दुर्घटनास्थलका तस्बिरमा रेलको लामो लिकको एउटा टुक्रा डिब्बाभित्र छिरेको देखिएको छ। उद्धारका लागि दर्जनौं एम्बुलेन्स घटनास्थल पुगेका थिए। गम्भीर घाइतेहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
स्पेनको सिभिल गार्डले केही मृतकको पहिचान गर्न उनीहरूका आफन्तबाट डिएनए नमुना संकलन गर्नुपर्ने जनाएको छ।
प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनास्थलको भ्रमणका क्रममा भने, ‘सम्पूर्ण स्पेन शोकमा छ। धेरैको जीवन तहसनहस भएको छ, परिवारहरू टुक्रिएका छन् र पीडा असह्य छ।’
यसअघि जनवरीमा पनि स्पेनको कोर्डोबानजिकै तीव्र गतिको रेल दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो। त्यो दुर्घटना पनि यही रेलमार्गमा भएको थियो।
बुधबारको दुर्घटना सन् २०१३ यताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना हो। सन् २०१३ मा उत्तरपश्चिमी स्पेनको सान्टियागो दे कम्पोस्टेलाको बाहिरी क्षेत्रमा भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो।
नेपाल सरकारले गर्यो दुःख व्यक्त
स्पेनमा भएको रेल दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति नेपालको परराष्ट्र मन्त्रालयले दु:ख व्यक्त गरेको छ।
बुधबार राति मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाप्रति दु:ख व्यक्त गरेको हो।
'स्पेनको टोलेडो प्रान्तमा भएको दुःखद रेल दुर्घटनामा अमूल्य जीवन गुमेको घटनाले हामी अत्यन्त दुःखी छौँ। मृतकका शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ,' मन्त्रालयले भनेको छ, 'यस दुःखद घटनाबाट प्रभावित स्पेन सरकार, त्यहाँका जनता तथा सबैप्रति हाम्रो विचार र ऐक्यबद्धता रहेको छ।'