राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच कर्मचारीसम्बन्धी सूचना स्वतः आदानप्रदान गर्ने व्यवस्था लागू गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले हस्ताक्षर गरेका छन्।
समझदारीपछि दुवै निकायका सूचना प्रणाली जोडिनेछन्। यसबाट एउटै सरकारी निकायमा रहेको नागरिकको व्यक्तिगत विवरण फेरि भर्नुपर्ने वा माग्नुपर्ने अवस्था हट्ने जनाइएको छ।
महानिर्देशक पोखरेलले सरकारले अघि सारेको 'एउटा विवरण, एक पटक मात्र बुझाउने' सिद्धान्तअनुसार दुवै निकायबीच सूचना आदानप्रदानको व्यवस्था गरिएको बताए। यो व्यवस्था शासकीय सुधार कार्यसूचीको २९ र ३६ नम्बर बुँदासँग सम्बन्धित छ।
राष्ट्रिय किताबखानाले तीन महिनाअघि नै लोकसेवा आयोगबाट सिफारिस भएका नयाँ कर्मचारीका लागि विद्युतीय सिटरोल दर्ता सेवा सञ्चालनमा ल्याएको थियो। यस सेवाबाट कर्मचारीले आफ्नै मोबाइल, ल्यापटप वा कम्प्युटरबाट सिटरोल दर्ता गर्न, संकेत नम्बर लिन र सिटरोल डाउनलोड गर्न सक्ने व्यवस्था छ।
पोखरेलका अनुसार सबै नयाँ कर्मचारीले यो सेवा प्रयोग गर्दै आएका छन्। दुर्गम र सुगम सबै ठाउँका कर्मचारीले यसबाट लाभ लिएका छन्।
समझदारी लागू भएपछि लोकसेवा आयोगको मुख्य परिचय नम्बर प्रविष्ट गरेपछि कर्मचारीका व्यक्तिगत विवरण स्वतः प्रणालीमा भरिनेछ।
यसका लागि नाम, बाबु–बाजेको नाम, वैवाहिक अवस्था, स्थायी र अस्थायी ठेगाना, शैक्षिक योग्यता, नागरिकता नम्बर, जारी मिति, जिल्ला लगायतका विवरण फेरि टाइप गर्नुपर्ने छैन।
यसबाट सेवाग्राहीको समय र श्रम बच्ने, विवरणमा एकरूपता कायम हुने र सेवा लिन सहज हुने राष्ट्रिय किताबखानाले जनाएको छ।