रुकुम पश्चिमलगायत जिल्लामा छिनछिनमा विद्युत आउने–जाने समस्या बढ्न थालेपछि स्थानीय प्रशासनले चासो व्यक्त गरेको छ।
विद्युत आपूर्ति अनियमित हुँदा आम नागरिक, उद्योग–व्यवसाय तथा सरकारी कार्यालयहरूको सेवा प्रवाह प्रभावित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो।
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले विद्युत अनियमितताबारे व्यापक गुनासो आएपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्रलाई वास्तविक समस्या, त्यसका कारण, चुनौती तथा समाधानका उपाय समेटेर विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए।
प्रशासनको निर्देशनपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्रले विद्युत आपूर्तिमा देखिएका समस्या, तिनका कारण, चुनौती तथा समाधानका लागि गर्नुपर्ने काम समेटिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ।
विद्युत वितरण केन्द्रका प्राविधिक प्रमुख पारस सुवेदीका अनुसार प्रशासनको निर्देशनपछि स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो।
प्रतिवेदनअनुसार विद्युत आपूर्ति अनियमित हुनुको मुख्य कारण पूर्ण विद्युतीकरण कार्यमा भएको ढिलासुस्ती रहेको उल्लेख गरिएको छ।
साथै प्रसारण तथा वितरण प्रणालीमा प्राविधिक समस्या, व्यवस्थापकीय कमजोरी तथा दीर्घकालीन पूर्वाधारको अभाव पनि रहेको औंल्याइएको छ।
प्राविधिक प्रमुख सुवेदीले पेश गरेको प्रतिवेदनमा रुकुम वितरण केन्द्रबाट रुकुमपश्चिमका अधिकांश क्षेत्र, रुकुमपूर्वको सम्पूर्ण क्षेत्र तथा जाजरकोट र सल्यानका केही क्षेत्रमा विद्युत सेवा प्रवाह हुँदै आएको उल्लेख छ।
लामो दूरीमा फैलिएको वन क्षेत्र, सामान्य हावाहुरी तथा बाढीपहिरोका कारण बारम्बार विद्युत सेवा प्रभावित हुने गरेको प्रतिवेदनमा जनाइएको छ।
हाल रुकुम वितरण केन्द्रबाट २५ हजार २८३ ग्राहकलाई विद्युत सेवा उपलब्ध गराइएको छ भने करिब चार हजार पाँच सय घरधुरीमा अझै विद्युतीकरण हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै जीर्ण प्रसारण तथा वितरण संरचनाको आधुनिकीकरण, आवश्यक ट्रान्सफर्मर, उपकरण, जनशक्ति तथा बजेट व्यवस्थापनका लागि आवश्यक पहल गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ। आवश्यक प्राविधिक जनशक्ति, सवारीसाधन, ट्रान्सफर्मर तथा अन्य विद्युतीय सामग्रीको अभाव रहेको तथा प्रणाली सुधार र पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट उपलब्ध नभएको पनि उल्लेख गरिएको छ।
प्रतिवेदनमा जिल्लाको विद्युत आपूर्तिलाई दिगो बनाउन जाजरकोटको कुदु–मुसिकोट ३३ केभी नयाँ प्रसारण लाइन निर्माण, बाँफिकोटको भम्पुचौरमा ३३/११ केभी सबस्टेसन स्थापना, भविष्यमा १३२/३३ केभी ग्रिड सबस्टेसन निर्माण तथा वन क्षेत्रमा रहेका नाङ्गा तार विस्थापन गरी विद्युत प्रणालीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रमुख जिल्ला अधिकारी गौतमले प्रतिवेदनमा उल्लेख गरिएका समस्या, चुनौती र समाधानका प्रस्तावलाई उच्च प्राथमिकतामा राखी आवश्यक नीतिगत निर्णय, बजेट व्यवस्थापन, पूर्वाधार निर्माण, उपकरण तथा जनशक्ति व्यवस्थापनका काम अघि बढाउन अनुरोध गर्दै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन्।
प्रजिअ गौतमले विद्युत वितरण केन्द्रले तयार पारेको प्रतिवेदनका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय कार्यान्वयन गर्न केन्द्रमा पहल गरिएको बताए।
उनका अनुसार वर्षायाम सुरु भएसँगै बारम्बार बत्ती जाने, लामो समयसम्म विद्युत सेवा पुनः सञ्चालन नहुने, सामान्य हावाहुरी र वर्षामै सेवा अवरुद्ध हुने, न्यून भोल्टेज तथा लाइन ट्रिप हुने समस्या बढेको छ।
यसका कारण सर्वसाधारण, उद्योग–व्यवसाय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सञ्चार क्षेत्र तथा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएकाले समस्या समाधानका लागि प्राधिकरणलाई पत्राचार गरिएको हो।