मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरूङबीच तीन दिनदेखि बाराको निजगढमा पटकपटक वार्ता भइरहेको छ।
बुधबार गृहमन्त्रीसँग चौथो चरणको वार्ता सम्पन्न भयो। तर पनि अहिलेसम्म निष्कर्षमा पुग्न नसकेको मिटरब्याज पीडित अभियानी लक्ष्मी घिमिरेले जानकारी दिइन्।
उनका अनुसार हिजो (बुधबार) राति करिब सवा ८ बजेदेखि सुरू भएको वार्ता झण्डै चार घण्टा चलेको थियो। गृह मन्त्रालयका प्रतिनिधि र पीडित पक्षबीच लामो छलफल भए पनि सहमति जुट्न सकेन।
गृहमन्त्रीले यसअघि नै स्वीकार गरिसकेको ६ बुँदे सहमति-पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरेर आधिकारिक वैधानिकता दिनुपर्ने उनीहरूको मुख्य अडान छ। सोही बुँदामा सरकारी पक्ष तयार नभएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको उनी बताउँछिन्।
-1784186561.jpg)
आज पनि दुवै पक्षबीच संवादका लागि अनौपचारिक पहल भइरहेको छ। तर, पाँचौं चरणको औपचारिक वार्ता कहिले र कति बजे बस्ने भन्नेबारे अहिलेसम्म कुनै टुंगो लागेको छैन।
वार्ता निष्कर्षविहीन भए पनि पीडितहरूले आफ्नो आन्दोलन रोकेका छैनन्। माग पूरा नभएसम्म पैदल न्याय मार्च स्थगित नहुने र काठमाडौंतर्फको यात्रा निरन्तर अघि बढ्ने उनी बताउँछिन्।
यद्यपि, आन्दोलन जारी राख्दै सरकारसँग संवाद र समन्वयको ढोका भने खुला राखिएको पीडित पक्षको भनाइ छ।
'मिटरब्याज र ठगीविरूद्ध न्यायको माग गर्दै काठमाडौंतर्फ हिँडेका पीडितहरू आज (सातौं दिन) पनि बाराको निजगढमै रोकिएका छौं,' उनले भनिन्।
सरकार र आन्दोलनरत पक्षबीच बिहीबार राति भएको चौथो चरणको वार्ता निष्कर्षविहीन भएपछि पीडितहरू विगत तीन दिनदेखि निजगढमै बसिरहेका हुन्।