मिटरब्याज पीडितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन्।
गृहमन्त्री सुधन गुरूङ र मिटरब्याज पीडितबीच ३ दिनदेखि बारा निजगढमा वार्ता चलिरहेको थियो।
चौथो पटक वार्ता गर्दा पनि टुङ्गोमा पुर्याउन नसकेपछि मिटरब्याज पीडितले बनाएको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौं आउन लागेका हुन्।
वार्ताका लागि ६ जनाको टोली बनाइएको छ। उनीहरू काठमाडौंका लागि निस्किन लागेको मिटरब्याज पीडित अभियानी लक्ष्मी घिमिरेले जानकारी दिइन्।
'वार्ता टोली काठमाडौं जानुहुन्छ। बाँकी निजगढमै बस्छौं,' उनले भनिन्।
उनका अनुसार वार्ता टोलीमा मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहा, केन्द्रीय महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजनराना मगर,केन्द्रीय सदस्य लक्ष्मी घिमिरे, किरण परियार र संयुक्त जनअधिकार मोर्चाका केन्द्रिय अध्यक्ष निर्ग नविन छन्।
गृहमन्त्री गुरूङ तीन दिनअघि निजगढ पुगेर ४ पटक वार्ता भयो। तर पनि टुंगोमा पुर्याउन नसकेपछि प्रतिनिधि टोलीहरूमात्र काठमाडौं आएर वार्ता गर्न लागिएको उनी बताउँछिन्।
वार्ता टोली काठमाडौं आएपछि बाँकी निजगढमा बसिरहनेछन्।