नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएको छ।
बिहीबार दिउँसो छाती दुखेपछि नेता शाक्य आफै पाटन अस्पताल पुगेकी थिइन्।
त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने भएपछि उनको शल्यक्रिया गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
'दिउँसो छाती दुखेपछि उहाँ आफैं अस्पताल जानुभएको रहेछ,' आचार्यले भने, 'अहिले शल्यक्रिया भइसकेर उहाँ उपचारकै क्रममा हुनुहुन्छ।'
चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको बताएको आचार्यले जानकारी दिए।
उनी केही दिन अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन्।