नेपालको नागरिक आन्दोलनका सक्रिय अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ।
नागरिक आन्दोलनमा सक्रिय रहेका चिकित्सक डा. अनुप सुवेदीले सेतोपाटीलाई दिएको जानकारी अनुसार ८७ वर्षीय पाण्डेको शुक्रबार साँझ ७ः४० मा काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो।
'उहाँ ५ –६ महिनादेखि प्याङ्क्रियाजको क्यान्सरसँग लडिरहनुभएको थियो,' डा. सुवेदीले भने, 'बिहीबार दुखाइ बढेपछि उहाँलाई ह्याम्स र पाटन अस्पताल लगेर उपचार गरेर घरै लगिएको थियो।'
स्वर्गीय पाण्डेकी श्रीमती पद्मा, छोरी प्रिनीति, ज्वाइँ र नाति छन्।
सरकारको सचिव रहेका डा. पाण्डेले २०३६ मा जनमत संग्रह हुनुभन्दा केही महिनाअघि सेवाबाट राजीनामा दिएका थिए। ४० को दशकबाट सार्वजनिक अभियानमा होमिएका पाण्डे नेपालमा स्वावलम्बन अभियान सञ्चालनकर्ता मध्येका एक हुन्।
बंगलादेशमा युनुस अन्सारीले लघुवित्त अभियान थालेकै बेला डा. पाण्डेकै अगुवाइमा सन् ८० को दशकमा नेपालमा पनि त्यस्तै अभियान सुरू भएको नागरिक आन्दोलनका अर्का अभियन्ता डा. भाष्कर गौतम बताउँछन्।
२०४६ सालको जनआन्दोलनमा पेसागत फोरमबाट प्रजातन्त्र पुनर्स्थापनाका लागि लडेका पाण्डे २०४६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बनेका थिए।
उक्त अन्तरिम सरकारमा नेपाली कांग्रेस र वाममोर्चा बाहेकबाट दुई जना स्वतन्त्र नागरिक सरकारमा सामेल थिए। त्यसमध्ये डा. पाण्डे एक थिए भने डा. मथुरा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए।
संविधान जारी भएपछि २०४८ मा भएको आमनिर्वाचनमा पाण्डे लोक दल नामक पार्टी खोलेर पाल्पाबाट निर्वाचन समेत लडेका थिए।
५० को दशकदेखि पाण्डे विभिन्न संघ-संस्थामार्फत सार्वजनिक जीवनमा सक्रिय रहे। भ्रष्टाचारविरूद्ध काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका संस्थापकमध्ये एक उनी मानवअधिकार क्षेत्रमा पनि सक्रिय थिए।
भारतका पूर्वप्रधानमन्त्री आइके गुजराल, पाकिस्तानी आस्मा जहाँगिरहरूसँग मिलेर डा. पाण्डेले साउथ एसियन फर ह्युमन राइट्स स्थापना गरेका थिए। केही समय निष्क्रिय रहेका पाण्डे माओवादी द्वन्द्व उत्कर्षतिर अघि बढेपछि शान्ति प्रक्रिया सुरू गर्न नागरिक तहबाट सक्रिय बनेका थिए।
'द्वन्द्व चर्किँदै गएपछि उहाँ शान्ति स्थापनाका लागि सक्रिय रहनुभयो,' अध्येता गौतमले भने, '२०६२–६३ को जनआन्दोलनमा उहाँले नागरिक आन्दोलनको अगुवाइ गर्नुभयो।'
पाण्डेको निधनले नागरिक आन्दोलनले अगुवा गुमाएको भन्दै धेरैले उनीप्रति श्रद्धा प्रकट गरेका छन्।
लेखक, पत्रकार तथा नागरिक आन्दोलनकारी नारायण वाग्लेले पाण्डेलाई 'नागरिक स्वतन्त्रता, समानता, हक र चेतनाका पक्षमा सधैं खरो उभिने, लोकतन्त्रका लागि जहिल्यै संघर्षको समन्वय गर्दै नयाँ पुस्तालाई नित्य हौस्याइरहने हाम्रा अगुवा देवेन्द्रराज पाण्डे' भनेर सम्झना गरेका छन्।
डा. पाण्डेको शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।