रोल्पामा पैदल हिँडिरहेका एक व्यक्तिलाई बाटोमाथि बाट झरेको पहिरोले पुर्दा ज्यान गएको छ।
जिल्लाको परिवर्तन गाउँपालिका– ४ पाछाबाङ सल्लेबोटका ५७ बर्षीय देउप्रसाद घर्तीको मृत्यु भएको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्द्रले बताए।
छोराको ससुरालीबाट पैदल हिडेर घर फर्किदै गरेका घर्तीलाई शुक्रबार बेलुकीपख शिरबारी भन्ने ठाउँमा माथिबाट झरेको पहिरोले पुरेको थियो।
प्रहरी निरीक्षक चन्दका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय पाछावाङमा स्थानीयले शनिबार बिहान साढे ५ बजेतिर खबर गरेका थिए।
त्यसपछि प्रहरी बरिष्ठ नायव निरीक्षक नरसिंह खत्रीको कमाण्डमा बिहान सवा ७ बजेतिर प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीयसहित प्रहरीले पहिरो पन्छाएर घर्तीको शव निकालेको प्रहरी निरीक्षक चन्दले बताए। घर्तीको शव पोस्टमर्टमको लागि अस्पताल पठाउने तयारी गरिएको छ।
साथै अविरल वर्षाका कारण झरेको पहिरोले अवरुद्ध दाङ घोराहीदेखि रोल्पा जोड्ने शहिद मार्ग बिहानदेखि संचालनमा आएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका – १ खोलाबाङमा शुक्रबार राति झरेको पहिरोले शहिद मार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
प्रहरी चौकी कुरेलीबाट प्रहरी सहायक निरीक्षक नगेन्द्रबहादुर शाही नेतृत्वको टोली पुगेर अवरुद्ध सडक खण्डको पहिरो जेसिबीको सहयोगमा पन्छाएको प्रहरी निरीक्षक चन्दले बताए।