पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ।
पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिनलाई पक्राउ गरिएको हो ।
यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायतका सामग्री बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
केही समयदेखि पोखराका विभिन्न ठाउँमा भइरहेका चोरीका घटनाको सुक्ष्म अनुसन्धान गर्दा उक्त गिरोह पक्राउ परेको प्रहरीले जनाएको छ।