मुग्लिन-नारायणघाट सडक खण्डमा दुइटा बस एउटा ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा काठमाडौंबाट दाङ जाँदै गरेको र सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंतर्फ आउँदै गरेको ट्रकसँग ठोक्किएको हो।
आइतबार बिहान साढे ७ बजे दुइटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा परी दुइटा बसमा सवार ३० जना घाइते भएको र उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।
दुर्घटनाको खबरपछि विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्रको सहायक प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खटिएको उनले बताए।
दुवै बस र ट्रक घटनास्थलमै रहँदा र सडक दुइतर्फी अवरूद्ध भएको डिएसपी थापाले जानकारी दिएका छन्।
अहिले बाटो दुइतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।