नुवाकोटमा खेत पहिरोले बगाउँदा ६ जना किसान घाइते भएका छन्।
विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा ६ जना किसान घाइते भएका हुन्।
सोमबार स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला एक्कासी ठूलो पहिरो गएको हो।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन्। उनलाई करिब ७/८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो।
भट्टको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ। माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ।
पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए।
‘करिब ७ रोपनी खेत बगायो, खेत पुरै भीरजस्तो भएको छ’, उनले भने।