कैलाली प्रहरीले मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित युवालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी जवान धर्म साउदको कमाण्डमा खटिएको टोलीले बर्दिया जिल्लाको राजापुर नगरपालिका– १ का २२ वर्षीय हिमाल चलाउने सहित दुई जना ब्राउन सुगर सहित पक्राउ गरेको हो।
कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सोमबार बेलुकी साढे ७ बजेतिर जिल्लाको टीकापुर नगरपालिका– ८ मा २५ वर्षीय राजेन्द्र रावत र राजापुर–१ कै उनका साथी २५ वर्षीय राजेन्द्र रावतलाई शंका लागि चेकजाँच गर्ने क्रममा चलाउनेले मलद्वारमा लुकाइ छिपाइ राखेको अवस्थामा सात सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
पक्राउ परेका दुबै जनालाई इप्रका टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, इप्रका चौमालाबाट प्रहरी नायब निरीक्षक नवराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरीले सोमबार बेलुकी ७ बजेतिर थप दुई जना युवालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ झिल उत्तर कटानस्थित ऋप्तऋिषी बृद्धा आश्रम नजिकबाट सोही वडाको झिलेका २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद पक्राउ परेको जिल्ला प्रवक्ता विष्टले बताए।
कृष्ण साउदले पाइन्टको खल्तीमा राखेको दुई सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
कञ्चनपुर प्रहरीले पनि दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने ब्यक्ति डोटीको बडिकेदार गाउँपालिका – ४ का ३० वर्षीय बशन्त मौली र वडा नं. १ का २८ वर्षीय सुदिप बम पक्राउ परेका छन्।
कञ्चनपुरका प्रबक्ता डिएसपी टेकबहादुर रावतका अनुसार सोमबार राति साढे ९ बजेतिर जिल्लाको बेलौरी नगरपालिका –१० सडकघाट भन्ने ठाउँमा सवारी चेकजाँचका क्रममा उनीहरू ब्राउन सुगरसहित पक्राउ परेका थिए।
उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी रावतले बताए।
उनीहरू सवार सु.प.प्र ०११० प ९०७६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।