दाङ लमहीका दुई युवा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर सहित बाँकेमा पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाँकेका प्रवक्ता डिएसपी प्रतीतसिंह राठोरले बताए।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ का ३५ वर्षीय मधुसुदन पुलामी र २८ वर्षीय निश्चल केसी छन्।
मुद्दा शाखाका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार उनीहरू बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ११ बाट आइतबार पक्राउ परेका थिए।
गोप्य सूराकका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले कारमा सवार उनीहरू दुई जनालाई चेकजाँच गर्दा ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएपछि नियन्त्रणमा लिएको थियो।
प्रहरीले बा १७ च १४२२ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक विष्टका अनुसार पक्राउ परेका दुई जना आफ्ना श्रीमती सहित नेपालगञ्ज पुगेका थि । तर, श्रीमतीलाई नेपालगञ्जमै छोडेर उनीहरू छिमेकी देश रुपैडिहामा पुगी ब्राउन सुगर खरिद गरी ल्याएको खुल्न आएको छ।
उनीहरूका श्रीमतीलाई श्रीमानहरू ब्राउन सुगर लिन गएका थिए भन्ने कुरा जानकारी थियो भन्ने नखुलेको प्रहरीले जनाएको छ।
‘श्रीमतीलाई किनमेल र घुम्न जाऊँ भनेर लैजाने र पल्लो पट्टी गई ब्राउन सुगरको कारोबार गर्ने गरेको अनुसन्धाबाट खुल्छ,’ प्रहरी निरीक्षक बिष्टले भने।
भारतबाट किनेर ल्याएको ब्राउन सुगर बाँके हुँदै दाङ ल्याउने क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बाँकेले १० थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।