काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।
महानगरले मंसिर अगाडि नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
निर्माणाधीन केन्द्रको बुधबार अवलोकनपछि कार्यबाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन्।
उनका अनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ।
यसले प्रदूषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन्।
यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत् फोहोर वर्गीकरण गर्ने उनले बताइन्।
उनका अनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने उनले जानकारी दिइन्।
उनले भनिन्, ‘हामी यो टेकुको बन्दै गरेको फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रमा छौँ। यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको नै जैविक र अजैविक फोहोरलाई छुट्याउने हो। साथै, अजैविक फोहोरलाई यहाँबाट पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई हामीले बञ्चरेडाँडामा लग्ने फोहोरसँगै पठाइनेछ। अहिले धेरैजसो ठाउँमा खुला तरिकाले फोहोर छुट्याउने काम भइरहेको छ। तर यसरी खुला रूपमा फोहोर छुट्याउँदा प्रदूषण, जोखिम तथा अन्य धेरै पक्षबाट सुरक्षित हुँदैन। त्यसैले यसलाई व्यवस्थित गर्नका लागि यो स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो।’
उनले जैविक फोहोरहरूलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन्।
उनकाअनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्नेछ।
बुधबार कार्यबाहक प्रमुख डंगोलले उक्त स्थानान्तरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन्। – न्युज एजेन्सी नेपाल