इरान युद्धका कारण इन्धनको मूल्य अत्याधिक बढेपछि विश्व भ्रमणमा निस्केको अमेरिकी विलासी पानीजहाज ‘भिल्ला भि ओडिसी’ले कम्बोडियामा आफ्नो सेवा स्थगित गरेको छ।
जहाज सञ्चालक कम्पनीले यात्रुहरूलाई जहाजबाट ओर्लन भनेपछि त्यसमा बसोबास गर्दै आएका २०३ यात्रु अनिश्चिततामा परेका छन्।
फ्लोरिडास्थित भिल्ला भि रेसिडेन्सेसले मंगलबार जहाजको सञ्चालन स्थगित गरेको घोषणा गर्दै यात्रुहरूको बसोबास र जहाजबाट सुरक्षित रूपमा बाहिरिने व्यवस्था मिलाइरहेको जनाएको छ। कम्पनीले आगामी ६० दिन पुनर्संरचना र थप पुँजी जुटाउने विकल्पमा काम गर्ने बताएको छ। तर जहाजको यात्रा कहिले पुनः सुरु हुन्छ भन्ने निश्चित छैन।
करिब २०० मिटर लामो ओडिसी जहाज अक्टोबर २०२४ मा उत्तरी आयरल्यान्डको बेलफास्टबाट विश्व भ्रमणमा निस्केको थियो। साढे तीन वर्षसम्म निरन्तर समुद्री यात्रा गर्दै झन्डै १५० देश पुग्ने यसको योजना थियो।
एसोसिएटेड प्रेसका अनुसार जहाजमा १५ देशका २०३ यात्रु र १५६ जना चालक दलका सदस्य थिए। जहाजमा एकैपटक ६५० जनासम्म यात्रु राख्न सकिन्छ।
जहाज अक्टोबर २३ मा कम्बोडियाको सिहानुकभिल बन्दरगाह पुगेको थियो। त्यहाँ पाँच दिन बसेर भियतनाम जाने योजना थियो। तर इन्धन खर्च धान्न नसकेपछि यात्रा अघि बढ्न सकेन।
कम्पनीका अनुसार इरान युद्ध सुरु भएयता एसियाका केही क्षेत्रमा जहाजको प्रतिक्याबिन मासिक इन्धन खर्च १ हजार ८०० अमेरिकी डलरबाट बढेर ६ हजारदेखि ८ हजार डलरसम्म पुगेको छ। यसले सञ्चालन खर्च असह्य बनाएको कम्पनीको भनाइ छ।
इन्धन खपत घटाउन जहाजको गति कम गर्ने र बन्दरगाहमा बढी समय बिताउने उपाय अपनाए पनि त्यसले बढ्दो खर्च धान्न नसकेको कम्पनीले जनाएको छ।
‘बढेको सम्पूर्ण खर्च यात्रुमाथि थोपर्नु व्यावहारिक समाधान होइन,’ कम्पनीले भनेको छ।
कम्पनीले यात्रु, चालक दल र कर्मचारीलाई सहयोग गर्ने बताएको छ। त, पुनर्संरचना तथा थप पुँजी जुटाउने प्रयास सफल हुने सुनिश्चितता नभएको पनि उसले स्पष्ट पारेको छ।
समुद्रमै घर बनाएर बस्ने सपना
ओडिसी सामान्य पर्यटकीय क्रुज जहाजभन्दा फरक थियो। यसले यात्रालाई मात्र नभई समुद्रमा स्थायी रूपमा बसोबास गर्न चाहने मानिसलाई लक्षित गरेको थियो।
जहाजका क्याबिन स्थायी बसोबासका लागि १ लाख २० हजारदेखि ४ लाख ४० हजार डलरसम्ममा बिक्री गरिएका थिए। मासिक ३ हजार ५०० डलरदेखि भाडामा बस्न सकिने व्यवस्था पनि थियो। कम्पनीले अवकाशपछिको जीवन समुद्रमा बिताउन चाहनेहरूका लागि आजीवन बसोबास कार्यक्रमसमेत ल्याएको थियो।
तर अहिले यात्रुहरूलाई कम्बोडियामा अस्थायी बसोबास खोज्नुपर्ने अवस्था आएको छ।
जहाजकी यात्रु होली हेनेसीले बीबीसीसँग कुरा गर्दै आफूहरू विभिन्न होटलमा बसेर आगामी निर्णयको प्रतीक्षामा रहेको बताएकी छन्। उनीसँग ‘क्याप्टेन’ नामको बिरालो पनि छ।
‘यो ठाउँमा यति लामो समय बिताउनुपर्ला भन्ने मैले कल्पना समेत गरेकी थिइनँ,’ उनले भनिन्।
कम्पनीले यात्रा पुनः सुरु गर्ने सम्भावना कायमै राखेकाले आफूले आशा नत्यागेको उनको भनाइ छ।
‘उनीहरूले यात्रा पूर्ण रूपमा सकियो भनेर नभनेसम्म म हार मान्दिनँ। यो जीवनशैली फेरि पाउन असम्भव हुनेछ,’ उनले भनिन्।
ओडिसीको यात्रा सुरु हुनुअघि पनि मर्मतसम्भारका कारण महिनौं ढिलाइ भएको थियो। त्यसबेला यात्रुहरू बेलफास्टमै लामो समय रोकिएका थिए र कम्पनीले ठूलो आर्थिक क्षति बेहोरेको थियो।
अहिले इन्धन खर्चमा भएको असाधारण वृद्धिले समुद्रलाई घर बनाएर विश्व घुम्ने यात्रुहरूको योजना फेरि अनिश्चित बनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)