काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ।
महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरू भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो।
भवन निर्माण सुरू भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए।
उनका अनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरू भएको हो।
हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उनले जानकारी दिए।
भवनको संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडि नै निर्माण सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
२०८४ कात्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उनले बताए।
उनका अनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन्। साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजर लगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ। निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उनले बताए।
उनले भने, ‘काठमाडौं महानगरपालिकाको भवन बनाउन हामीले चैतको २२ गतेबाट प्रोजेक्ट सुरू गरेका हौं र आजसम्म हाम्रो ९४ दिन भयो, हामीले ३० प्रतिशत फाइनान्सियल प्रोग्रेस र ३५ प्रतिशत फिजिकल प्रोग्रेस गरिसकेका छौँ। २०८४ को कात्तिक २२ गते हाम्रो फाइनल डेट छ, ह्याण्डओभर गर्नुपर्ने र हामी सकभर त्योभन्दा चाँडो नै सक्ने तयारी गरेर त्यो अनुसार काम गरिरहेका छौँ। अहिले हाम्रो स्ट्रक्चरको काम भइरहेको छ, बेसमेन्टको काम सकाएर अहिले बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी गरिरहेका छौँ। हाम्रोमा अहिले स्किल्ड र अनस्किल्ड गरेर ७० जना कामदारले काम गरिराख्नु भएको छ। त्यससँगै हाम्रो १० जना हाम्रो टेक्निकल म्यानपावरहरू छ। प्रोजेक्ट म्यानेजरदेखि लिएर साइट सुपरभाइजरदेखि सबैजना र सबै सेफ्टी प्रोटोकलहरू अपनाएर हामीले साइटमा काम गरिरहेका छौँ।’
महानगरको करिब ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुँदैछ।
उक्त निर्माणाधीन भवनको बुधबार काठमाडौं महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गरेकी छन्। उनले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिइन्। –न्युज एजेन्सी नेपाल