नेपाली सेना परिचालन भएपछि सुनसरीको देवानगन्जको तनाव मत्थर बन्दै गएको छ।
आइतबार राति झडप भएपछि एक जनाको ज्यान गएको र थप ९ जना गोली लागेर घाइते बनेको घटनापछि सोमबार देवानगन्ज र आसपासका क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
देवानगन्ज सहितका क्षेत्रमा आक्रोशित स्थानीयबासीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको हो।
सेना परिचालन भएपछि अवस्था सामान्य बन्दै गएको देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए।
‘स्थिति तनावग्रस्त थियो, सेना परिचालन भएपछि अहिले सामान्य बन्दै गएको छ,’ उनले भने, ‘अहिले घटनास्थल र वरपर कोही पनि सडकमा छैनन्।’
अध्यक्ष मेहताले दिएको जानकारी अनुसार आक्रोशित प्रदर्शनकारीहरूले देवानगन्ज-३ का वडाध्यक्षको घरमा तोडफोड गरेका छन्।
आगो लगाउन लाग्दा सुरक्षाकर्मीले रोकेको उनले जानकारी दिए। त्यस्तै, एक जना सर्वसाधारणको घरमा पनि आगजनी भएको अध्यक्ष मेहताले बताएका छन्।
देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर घाइते भएका ९ जनामध्ये २ जनाको अवस्था गम्भीर बनेको अध्यक्ष मेहताले जानकारी दिएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यो घटनापछि प्रशासनले कर्फ्यू जारी गरे पनि उल्लंघन गर्दै आज मध्याह्नदेखि प्रदर्शन सुरू भएको थियो।
प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।
यसैबीच सुनसरीस्थित राजनीतिक दल, विभिन्न सामाजिक संघससंस्था, धार्मिक संघसंस्थाका अगुवाहरूले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन्। केहीबेरअघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलपछि उनीहरूले घटनाको छानबिन गर्नुपर्ने बताउँदै संयम रहन सबैमा अनुरोध गरेका छन्।