राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
बिजुलीको पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरू भएको र डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको आयोगको प्रवक्ता टिकाराम पोखरेलले जानकारी दिए।
उनका अनुसार विवाद बढ्दै जाँदा दुई पक्षबीच तोडफोड र झडप सुरू भएको तथा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको हो।
साथै ९ जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगले जनाएको छ।
घटनापश्चात विरोधमा ठाउँ-ठाउँमा टायर बालिएको र आन्दोलनकारीले लाठी तथा रड बोकेर प्रदर्शन गरिरहेका छन्।
कप्तानगञ्ज लगायतका स्थानहरूमा स्थिति तनावग्रस्त बनेपछि सुरक्षा नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ।
शान्ति सुरक्षा मजबुत बनाउन, दोषीलाई कानूनी कारबाही गर्न, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको नि:शुल्क उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिइएको छ।
वार्ता र संवादको माध्यमबाट विवाद समाधान गरी सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई अपील गरिएको छ।