ढाड दुख्ने समस्या विभिन्न कारणले हुने भए पनि ९० प्रतिशतभन्दा बढी समस्या मांसपेशीसँग सम्बन्धित हुने हाडजोर्नी तथा मेरूदण्ड विशेषज्ञ एवम् राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सहप्राध्यापक डा. रूद्र मरासिनीले बताएका छन्।
मेरूदण्डलाई सिधा र अड्याएर राख्ने काम वरिपरिका मांसपेशीले गर्ने भएकाले ती मांसपेशी कमजोर हुँदा ढाड दुख्ने समस्या हुने उनले बताए। मांसपेशी सक्रिय र बलियो राख्न नियमित व्यायाम आवश्यक रहेको उनको भनाइ छ।
मेरूदण्डको कुरकुरे हड्डीमा समस्या आउँदा, अस्टियोपोरोसिस अर्थात् हड्डीको घनत्व कम हुँदा, हर्मोनल परिवर्तन, पोषणको अभाव, जन्मजात कारण तथा संक्रमणका कारण पनि ढाड दुख्न सक्ने उनले बताए। उमेर बढ्दै जाँदा मेरूदण्डको बनावटमा आउने परिवर्तनले पनि दुखाइ हुन सक्ने उनले बताए।
गलत तरिकाले बस्ने र नियमित व्यायाम नगर्ने कारणले ढाड दुख्ने समस्या धेरै रहेको डा. मरासिनीले बताए।
मेरूदण्डलाई सिधा पारेर बस्नुपर्ने, झुकेर बस्न नहुने र बस्दा अलि कडा खालको कुर्सी प्रयोग गर्नुपर्ने उनले सुझाव दिएका छन्।
नियमित एरोबिक व्यायामले मांसपेशी सक्रिय र बलियो राख्ने भन्दै उनले व्यायामका लागि जिम नै जानुपर्छ भन्ने नभएको बताए।
हिँड्नु सबभन्दा सहज विकल्प भएको उनको भनाइ छ।
नाच्ने, उफ्रिनेलगायत शरीरका सबै मांसपेशी चल्ने गतिविधि गर्न सकिने उनले बताए।
समय भएका बेला करिब एक घण्टा पसिना आउने गरी व्यायाम गर्न सके राम्रो हुने उनले बताए।
नियमित व्यायामले ढाड दुख्ने समस्याबाट बच्नुका साथै कोलेस्ट्रोल, उच्च रक्तचाप, सुगर र मुटु सम्बन्धी समस्याबाट बच्नसमेत सहयोग गर्ने उनको भनाइ छ।
उनका अनुसार भारी वस्तु उठाउँदा पनि ढाड दुख्न सक्छ। यस्तो अवस्थामा हुने दुखाइ कामको प्रकृति र कारणसँग सम्बन्धित हुन्छ। ढाड दुख्दा मालिस गर्दा केही समय दुखाइ कम भए पनि यसलाई मुख्य उपचार मान्न हुँदैन। ढाड दुख्नुको कारण पहिचान गरेर त्यसको उपचार गर्नुपर्ने भन्दै उनले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
मांसपेशी बलियो बनाउन सक्रिय राख्नुका साथै पौष्टिक खाना खानुपर्ने हुन्छ। दाल, भात, तरकारी, अचार र एक गिलास दूध खाँदा सन्तुलित र पोषणयुक्त खाना हुने उनको सुझाव छ।
'भातको मात्रा घटाएर दाल र तरकारीको मात्रा बढाउन सकिने भए पनि जंक फुड खाएर त्यसको दोष दालभात तरकारीलाई दिएर हुँदैन। माछा मासु नखानेका लागि पनि दूध, दही, मोही लगायतका खानेकुराले आहारलाई सन्तुलित बनाउन सकिन्छ,' उनले भने।
ढाड दुख्ने समस्याको उपचार कारणअनुसार फरक हुने भन्दै उनले कतिपयलाई सामान्य उपचारले नै ठीक हुने, कतिपयलाई थेरापी आवश्यक पर्ने र त्यसले पनि काम नगरेमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउने उनले बताए।
चोटपटकका घाइतेको अवस्था हेरेर शल्यक्रिया गर्ने गरिन्छ भने नशा च्यापिने समस्या पनि ढाडको शल्यक्रिया गर्नुपर्ने प्रमुख अवस्थामध्ये एक हो।
ढाड बांगो भएकाहरूको शल्यक्रिया सबभन्दा लामो हुने र गर्धनको समस्या जटिल भए अगाडि र पछाडिबाट समेत शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
आफू कार्यरत ट्रमा सेन्टरमा चोटपटक लागेका बिरामीको उपचार हुने गरेको भन्दै उनले हातखुट्टा भाँचिएका, टाउकोमा चोट लागेका तथा एकभन्दा बढी अंगमा चोट पुगेका बिरामी आउने गरेको बताए। ट्रम सेन्टरका निर्देशक समेत रहेका डा मरासिनीले सेन्टरमा ट्रमा, अर्थो र न्युरोसँग सम्बन्धित उपचार हुने जानकारी दिए।
'प्राकृतिक विपत्ति र आन्दोलनका घटनाबाहेक ट्रमा सेन्टरमा आउने बिरामीमध्ये सडक दुर्घटनाका बिरामी धेरै हुन्छन्। सडक दुर्घटनामा मोटरसाइकल दुर्घटनाका बिरामी धेरै हुने र त्यसमा युवाको संख्या बढी छ,' उनले भने, 'गाउँमा रूखबाट लडेर तथा सहरमा बाथरूममा लडेर घाइते हुने बिरामी पनि आउँछन्। इमर्जेन्सीबाहेक अन्य सेवाका लागि केही समय कुर्नुपर्ने भए पनि गुणस्तरीय सेवाका लागि यस्तो समय आवश्यक पर्छ।'
दुर्घटनामा परेर सिटी स्क्यानका लागि आएको बिरामीलाई तत्काल सेवा दिन सकिए पनि अन्य अवस्थामा तत्काल सेवा दिन कठिन हुने उनले बताए।
बिरामीको भीड कम गर्न स्वास्थ्य सेवा विकेन्द्रीकरण गर्नुपर्ने उनको भनाइ छ।
'कम्तीमा एउटा प्रदेशमा एउटा ट्रमा सेन्टर आवश्यक रहेको र काठमाडौं आउने नाकामा पनि ट्रमा सेन्टर आवश्यक छ। तर ट्रमा सेन्टर बनाउँदा अन्य आवश्यक सेवा पनि उपलब्ध भएको अस्पताल हुनुपर्छ,' उनले भने, 'चितवनको सट्टा दाउन्नेमा मात्र ट्रमा सेन्टर बनाएर हुँदैन। प्राथमिक उपचार सेवा भएका केन्द्र भने धेरै ठाउँमा आवश्यक हुन्छ।'
(हाडजोर्नी तथा मेरूदण्ड विशेषज्ञ एवम् राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सहप्राध्यापक डा. रूद्र मरासिनीसँग सेतोपाटीका सन्जिब बगालेको कुराकानी)