पूर्वी नवलपरासीको पेलेगा डाँडामा निस्किरहेको धुवाँ विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) रहेको विज्ञहरूले बताएका छन्।
लामो समयदेखि हुप्सेकोट गाउँपालिका वडा नं. ६ पेलेगा डाँडाको घाँगी भीरमा धुवाँ निस्किरहेपछि खानी तथा भूगर्भ विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो।
स्थलगत अध्ययन तथा त्यहाँका नमुनाहरूको प्रारम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मोनोअक्साइड रहेको पत्ता लागेको हो।
खानी तथा भूगर्भ विभागका खानी विज्ञ प्रकाश लुइँटेलले त्यहाँको चट्टान, निस्किरहेको धुवाँको रङ र गन्धसमेत अध्ययन गर्दा उक्त धुवाँ बाक्लो कार्बन मोनोअक्साइडयुक्त रहेको पाइएको बताए।
लुइँटेलले धुवाँ निस्किरहेको कार्बनयुक्त चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निस्किएको र त्यही ग्यास निस्किने बेलामा उत्पन्न भएको तापले कार्बनयुक्त चट्टानलाई बल्न मद्दत गरेको हुनसक्ने सेतोपाटीलाई बताए।
फलाम र सल्फरको समिश्रणबाट पाइराइट बन्ने गर्छ। यसलाई ढुंगामा हिर्काउँदा वा घोट्दा झिल्का निस्कन्छ भने हावा र पानीको सम्पर्कमा आउँदा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले ताप पैदा गर्छ।
‘धुवाँ आइरहेको स्थानको कार्बनयुक्त चट्टानभित्र पाइराइट हुनुपर्छ। पाइराइट अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निकाल्छ र त्यो ग्यास निस्किने बेलामा उत्पन्न हुने तापले कार्बनयुक्त चट्टानलाई बाल्न मद्दत गरेको हुनुपर्छ,’ लुइँटेलले भने।
धुवाँ निस्किरहेको ठाउँमा जमिन भासिएको र स्थानीयका अनुसार पहिरो गएपछि धुवाँ निस्किन थालेकोले पहिरो गएपछि पाइराइट अक्सिजनसँग मिसिएर कार्बन जल्न थालेको उनले बताए। लुइँटेलका अनुसार पानी परिरहेको बेला र ओसमा पाइराइट अझ बढी बल्ने भएकाले अहिले पानी परिरहँदा धुवाँ धेरै देखिने गरेको हो।
त्यहाँ निस्किने धुवाँ पनि अरूभन्दा फरक सेतो खालको रहेको र त्यसबाट सल्फरको जस्तो गन्ध आइरहेको लुइँटेलले बताए।
‘ठ्याक्कै कोइला पनि होइन तर चट्टानमा कार्बनको मात्रा बढी भएकोले गुम्सिएर धुवाँ आउने गरी जलिरहेको छ,’ उनले भने।
पहिरो गएपछि चट्टानमा धुवाँ निस्किने र त्यसको तल खोल्सीको पानीसमेत एसिडयुक्त भएर रातो बनेको छ। त्यहाँको धुवाँ मात्र होइन, पानीसमेत मानिस र बस्तुभाउको स्वास्थ्यका लागि घातक हुने लुइँटेलले बताए।
उनले त्यहाँ उडिरहेको धुवाँ नजिक नजान, नसुँघ्न र पानी प्रयोग नगर्न आग्रह गरे।
‘धुवाँ आएको भनेपछि स्थानीयले नजिक जाने, सुँघ्ने, दाउरा हालेर बाल्ने गर्नुभएको रहेछ। धुवाँ हानिकारक रहेकोले नजिक नजान भनेका छौँ। त्यो सँगै तल खोल्सीको पानीमा एसिडको मात्रा धेरै छ। त्यो पानी पनि मानिस र पशुपक्षी सबैका लागि हानिकारक रहेकोले प्रयोग नगर्न भनेका छौँ,’ उनले भने।
कार्बन मोनोअक्साइडले मानिसहरूमा टाउको दुख्ने, रिँगटा लाग्ने, जीउ झुम्म हुने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने र अचानक बेहोस भई मृत्युसमेत हुन सक्छ। घरपालुवा तथा जङ्गली जनावरमा समेत यसको ग्यासले असर पार्न सक्छ। हावामा थोरै मात्रामा कार्बन मोनोअक्साइड हुँदा पनि चराचुरुङ्गीहरू तत्कालै मर्न सक्छन्।
स्थानीयका अनुसार अहिले धुवाँ निस्किरहेको डाँडा आसपास २०/२२ वर्ष पहिले पनि धुवाँ आउने गर्थ्यो। केही समयदेखि देखिन छोडेको धुवाँ फेरि चार–पाँच महिनादेखि निरन्तर बाक्लो गरी देखिन थालेको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह राना मगरले बताए। उनले चट्टानको भित्रबाट ज्वाला निस्किएर ढुंगा नै पग्लिएर सेतै बनेको र त्यहाँ जाँदा श्वास फेर्न गाह्रो हुने गरेको बताए।
हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशको एक मात्र तराईको जिल्ला पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट ९ किलोमिटर उत्तरपश्चिममा पर्छ। हुप्सेकोटकै वडा नं. ५ धौवादीमा नेपालकै ठूलो फलाम खानी रहेको छ।
धौवादी फलाम कम्पनी लिमिटेडले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाइसकेको छ।