जर्मनीको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी स्पाङडाहलेम हवाई अड्डामा अमेरिकी वायुसेनाको एफ–१६ लडाकु विमान दुर्घटनामा परेको छ।
मंगलबार भएको दुर्घटनामा विमानका पाइलटले सुरक्षित रूपमा बाहिर निस्केका (इजेक्सन) थिए। उनलाई उपचारका लागि लगिएको अमेरिकी सेनाले जनाएको छ।
दुर्घटनाको कारण भने खुलेको छैन।
अमेरिकी सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनास्थलमा आपत्कालीन उद्धार तथा अग्निनियन्त्रण टोली परिचालन गरिएको थियो।
पाइलटको अवस्थाबारे थप विस्तृत विवरण तत्काल सार्वजनिक गरिएको छैन।
अमेरिकी सेनाका अनुसार विमान नियमित प्रशिक्षण उडान सकेर स्पाङडाहलेम हवाई अड्डातर्फ फर्किरहेको थियो। उक्त प्रशिक्षणमा चारवटा एफ–१६ सहभागी थिए।
दुर्घटनापछि बाँकी तीनवटा विमानलाई जर्मनीकै रामस्टाइन हवाई अड्डातर्फ डाइभर्ट गरिएको थियो। ती तीनवटै विमान सुरक्षित रूपमा अवतरण गरेका भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
स्पाङडाहलेममा रहेको ४८०औँ फाइटर स्क्वाड्रनले एफ–१६ सञ्चालन गर्दै आएको छ। अमेरिकी वायुसेनाका अनुसार उक्त स्क्वाड्रनसँग दुई दर्जनभन्दा बढी ब्लक ५० एफ–१६ छन्।