पाल्पाको सिद्धबाबामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा बसले स्कुटरलाई ठक्कर दिँदा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोककी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार साँझ सवा ५ बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको लु १ ख ९२७६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बसको ठक्करबाट स्कुटरमा सवार मायाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी मायालाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
उक्त दुर्घटनामा स्कुटर चालक सोही स्थानकी ३६ वर्षीया केशरी कुँवर घाइते भएकी छन्।
उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार स्कुटरलाई ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।