रुकुम पश्चिममा चोरी गरेर पर्सा पुगेका एक किशोरलाई पक्राउ गरी अनुसन्धानका लागि पुनः रुकुम पश्चिम ल्याइएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२१ सुकचैनाका १८ वर्षीय गणेशकुमार रामलाई प्रहरीले कात्तिक ६ गते बेलुका ७ बजेतिर घरबाटै पक्राउ गरेको हो।
कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार चोरीपछि सोही घरमा कोठा भाडामा बस्दै आएका राम सम्पर्कविहीन भएका थिए। उनी रुकुम पश्चिममा सडक मर्मतको काम गर्दै आएका थिए।
घरबाट नगद र गहना चोरी भएको भन्दै प्रहरीमा जाहेरी परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। यसै क्रममा कोठा भाडामा बस्दै आएका राम सम्पर्कविहीन भएको सूचना पाएपछि रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले वडा प्रहरी कार्यालय श्रीपुर, पर्सासँग समन्वय गरी उनलाई पक्राउ गरेको थियो।
रामको घरमा रहेको झोला खानतलासी गर्ने क्रममा चोरी भएको ५ लाख १५ हजार रुपैयाँमध्ये २ लाख १ हजार रुपैयाँ मात्रै फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रामलाई कात्तिक ८ गते रुकुम पश्चिम ल्याइएको थियो। उनलाई सोमबार जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएकोमा चोरीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको प्रवक्ता परियारले जानकारी दिए।
राममाथि चोरी शीर्षकमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।