कैलालीमा खेत जोत्दै गरेको ट्र्याक्टरबाट लडेर एक जना सात वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ लिम्काका ७ वर्षीय सुशान्त चौधरीको से २ त ३६७२ नम्बरको ट्र्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
जिल्लाका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार दिउँसो ३७ वर्षीय बुवा खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्र्याक्टरले आफ्नै खेत जोतिरहँदा छोरा सुशान्तलाई आफूसँगै ट्र्याक्टरमा चढाएका थिए।
तर, दुभाग्र्य सोही क्रममा सुशान्त हुत्तिएर ट्र्याक्टरको पछाडिको भागमा जोडिएको रोटाभेटरमा पर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
‘बच्चाको जिद्दीले हो वा बुवाको छोरा प्रतिको प्रेमले गर्दा हो बुवाले छोरालाई खेत जोत्दै गरेको ट्र्याक्टरमा चढाएकोमा सुशान्त त्यहाँबाट हुत्तिएर पछाडिको रोटाभेटरमा पर्दा घटनास्थलमै उनको दुःखद निधन हुनु पुगेछ,’ डिएसपी तिमिल्सिनाले भने।
दुर्घटनामा बालकको ज्यान गएपछि प्रहरीले खडकबहादुरलाई नियन्त्रणमा लिएको छ। उनी प्रहरी हिरासतमा छन्।
ट्र्याक्टरका साहु स्थानीय ४० वर्षीय खुसीराम चौधरी पनि प्रहरीको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ।