मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’मा आज बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो।
बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए।
स्पाका सञ्चालक नरेश रञ्जितका अनुसार आगलागीबाट स्पाको मात्रै करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ।
‘बिहान अचानक विद्युत् सर्ट भएर स्पामा आगलागी भएको हो। पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पाले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ,’ उनले भने।
त्यस्तै, कम्प्लेक्समा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक प्रजापतिले जानकारी दिए। कम्प्लेक्स र स्पामा गरी करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए।
उनका अनुसार आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाउन जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासी र प्रहरी वृत्त थिमिको टोली खटिएको थियो। नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगो नियन्त्रणमा सहयोग गरेको थियो।
आगलागी बिहान भएकाले मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक खड्काले बताए। अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा दमकलबाट पानीको फोहोरा पुर्याउन केही कठिनाइ भएको उनले जानकारी दिए।
जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउनुपर्ने बताए। उनले अग्ला भवनमा आगलागी हुँदा प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकारले नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए।