मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार ६ जनालाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्।
६० वर्षीय शेरबहादुर अछाम, चौरपाटी गाउँपालिका-४ का हुन् भने ६१ वर्षीय रामेश्वर सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका बासिन्दा हुन्।
त्यस्तै सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङ पनि पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूविरूद्ध जाहेरी दिएपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो।
सिआइबीले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ।
एसएसपी जबराका अनुसार यो मामिलामा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताको विपरीत हुने गरी गैरकानुनी रूपमा ठगी गरेको देखिएको छ।
संकलन गरिएको रकममध्ये ८३,७०,४३९.९२ अमेरिकी डलर र ३७,१७,९८०.८० जिबिपी (ब्रिटिस पाउन्ड स्टर्लिङ) गरी हुने कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६.७६ रूपैयाँ सम्झौताको दायरा नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरेको आरोप छ।
उनीहरूले देशको अर्थतन्त्र प्रतिकूल (मुद्रा सञ्चितीकरणमा नोक्सानी) हुने निर्णय गरी संगठित समूहको लाभ लिएको आरोप छ।