तपाईं आफ्नो शरीर स्वस्थ राख्न व्यायाम गर्नुहुन्छ होला। खानपानमा ध्यान दिनुहुन्छ होला। नियमित स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ होला।
तर दिमाग स्वस्थ राख्न पनि कति ध्यान दिनुभएको छ?
हामीले दैनिक गर्ने धेरै कामले दिमागको स्वास्थ्यमा प्रभाव पारिरहेका हुन्छन्। पर्याप्त नसुत्ने, शारीरिक रूपमा निष्क्रिय रहने, अस्वस्थ खानपान गर्ने, एक्लै बस्ने र उच्च रक्तचाप तथा मधुमेह नियन्त्रण नगर्ने जस्ता बानीले उमेर बढ्दै जाँदा दिमागको कार्यक्षमतामा असर पार्न सक्छन्।
दिमाग स्वस्थ राख्नु भनेको स्मरणशक्ति राम्रो हुनु मात्रै होइन। सोच्ने, बुझ्ने, नयाँ कुरा सिक्ने, निर्णय गर्ने, भावना नियन्त्रण गर्ने र दैनिक काम गर्न सक्ने क्षमता जोगाइराख्नु पनि हो।
उमेर बढ्दै जाँदा स्मरणशक्तिमा केही परिवर्तन आउनु स्वाभाविक हो। तर अल्जाइमर र डिमेन्सियाजस्ता समस्या उमेर बढेपछि अनिवार्य रूपमा देखिन्छन् भन्ने होइन। दिमागको स्वास्थ्यमा जीवनशैली र हामीले अपनाउने बानीको पनि ठूलो भूमिका हुन्छ।
सन् २०२४ मा 'द ल्यान्सेट' मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानले डिमेन्सियाका करिब ४५ प्रतिशत घटना रोक्न वा ढिलाइ गर्न सकिने देखाएको छ। अनुसन्धान अनुसार डिमेन्सियाको जोखिम बढाउने १४ वटा कारणमध्ये धेरैजसो जीवनशैली र स्वास्थ्यमा सुधार गरेर नियन्त्रण गर्न सकिन्छ।
विश्वभरका २७ जना विज्ञ सहभागी उक्त अनुसन्धानले जीवनशैली, स्वास्थ्य अवस्था र सामाजिक वातावरणलाई दिमागको स्वास्थ्यसँग जोडेर हेरेको छ।
दिमागलाई स्वस्थ राख्न दैनिक जीवनमा अपनाउन सकिने सात उपाय यस्ता छन्।
१. दैनिक शारीरिक व्यायाम गर्ने
दिमाग स्वस्थ राख्न शरीरलाई सक्रिय राख्नु महत्त्वपूर्ण हुन्छ। नियमित हिँड्दा, दौडिँदा, साइकल चलाउँदा, पौडी खेल्दा वा नाच्दा मुटु र रक्तसञ्चार प्रणाली स्वस्थ रहन्छ। यसले दिमागमा रगत र अक्सिजनको आपूर्ति राम्रो बनाउन सहयोग गर्छ।
शारीरिक गतिविधिले रक्तचाप, मधुमेह र मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ। यी सबै दिमागको स्वास्थ्यसँग सम्बन्धित जोखिम कारक हुन्।
त्यसैले दैनिक कम्तीमा ३० मिनेट छिटो हिँड्ने बानी बसाल्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले वयस्कलाई हप्तामा कम्तीमा १५० देखि ३०० मिनेट मध्यम तीव्रताको शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ।
सन् २०२४ को द ल्यान्सेट प्रतिवेदनले शारीरिक रूपमा सक्रिय नहुनुलाई डिमेन्सियाको जोखिम बढाउने कारणमध्ये एक मानेको छ। त्यसैले नियमित व्यायाम र शारीरिक गतिविधिले यसको जोखिम घटाउन सहयोग गर्न सक्छ।
२. पर्याप्त र गुणस्तरीय निद्रा लिने
निद्रा दिमागलाई आराम दिने समय मात्रै होइन, यो समयमा दिमागले दिनभर प्राप्त गरेका सूचना व्यवस्थित गर्छ। स्मरणशक्ति बलियो बनाउँछ। अनि मस्तिष्कमा जम्मा भएका केही अनावश्यक पदार्थ हटाउने प्रक्रियामा सहयोग गर्छ।
पर्याप्त निद्रा नहुँदा एकाग्रता, स्मरणशक्ति र निर्णय गर्ने क्षमतामा असर पर्न सक्छ। लामो समयसम्म निद्राको समस्या रहँदा दिमागको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्न सक्छ।
वयस्कले सामान्यतया राति ७ देखि ९ घण्टा सुत्नुपर्छ। सुत्ने र उठ्ने समय नियमित र समान हुनुपर्छ। सुत्नुअघि मोबाइल तथा अन्य विद्युतीय उपकरण प्रयोग कम गर्नुपर्छ। र, सुत्ने वातावरण शान्त बनाउनुपर्छ।
सन् २०२१ मा 'नेचर कम्युनिकेसन्स' मा प्रकाशित एउटा अध्ययनले राति ६ घन्टा वा त्योभन्दा कम सुत्ने ५० वर्ष आसपासका व्यक्तिमा ७ घन्टा सुत्ने व्यक्तिको तुलनामा डिमेन्सियाको जोखिम बढी हुने देखाएको थियो।
यसले कम निद्रा नै डिमेन्सियाको प्रत्यक्ष कारण हो भन्ने प्रमाणित गर्दैन। तर दिमाग स्वस्थ्य राख्न पर्याप्त निद्रा हुनु अत्यावश्यक छ।
३. खानपानमा ध्यान दिने
दिमागको स्वास्थ्यका लागि खानपानको महत्त्वपूर्ण भूमिका हुन्छ। शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउने खानाले मुटु र रक्तनलीको स्वास्थ्य राम्रो राख्न सहयोग गर्छ। त्यसको फाइदा दिमागमा पनि पुग्छ।
सागसब्जी, फलफूल, माछा, गेडागुडी, बदाम, ओखर र पूर्णअन्न खानामा समावेश गर्नुपर्छ। अत्यधिक चिनी, नुन, प्रशोधित खाना र धेरै बोसोयुक्त खानेकुरा कम गर्नुपर्छ।
दिमागको स्वास्थ्यका लागि खानपानबारे विभिन्न अनुसन्धान भएका छन्। खासगरी हरियो सागसब्जी, फलफूल, ओखर, बदाम, गेडागुडी, साबुत अन्न र माछालाई प्राथमिकता दिइन्छ। यसलाई 'माइन्ड डाइट' पनि भनिन्छ।
सन् २०१५ मा 'अल्जाइमर्स एन्ड डिमेन्सिया' जर्नलमा प्रकाशित अध्ययनले माइन्ड डाइट पालना गर्ने व्यक्तिमा अल्जाइमर जोखिम कम देखिएको उल्लेख गरेको थियो।
४. नयाँ कुरा सिक्ने र दिमागलाई सक्रिय राख्ने
दिमागलाई पनि नियमित अभ्यास आवश्यक हुन्छ। नयाँ भाषा सिक्ने, पढ्ने, बाजा बजाउने, लेख्ने, पजल खेल्ने वा नयाँ सीप सिक्ने गतिविधिले सोच्ने र बुझ्ने क्षमता सक्रिय राख्न सहयोग गर्छ।
त्यसैले दैनिक केही समय पढ्नुपर्छ। नयाँ विषयबारे जानकारी लिनुपर्छ। चेस वा शब्द पजल खेल्नुपर्छ। आफूलाई नयाँ लाग्ने काम सिक्ने बानी बसाल्न पनि सकिन्छ।
यस्ता गतिविधिले दिमाग सक्रिय राख्नुका साथै नयाँ सूचना ग्रहण गर्ने र त्यसलाई व्यवस्थित गर्ने अभ्यास पनि गराउँछन्।
द ल्यान्सेटको सन् २०२४ को प्रतिवेदनले कम शैक्षिक अवसरलाई डिमेन्सियाको जोखिम कारकका रूपमा पहिचान गरेको छ। जीवनभर सिक्ने र मानसिक रूपमा सक्रिय रहने अवसरले दिमागको कार्यक्षमता जोगाउन सहयोग गर्न सक्छ।
५. सामाजिक सम्बन्ध बलियो बनाउने
परिवार, साथीभाइ र समाजसँगको सम्बन्ध पनि दिमागको स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। अरूसँग कुराकानी गर्ने, भेटघाट गर्ने र सामूहिक गतिविधिमा सहभागी हुने गर्दा दिमागले निरन्तर नयाँ सूचना ग्रहण गर्ने र प्रतिक्रिया दिने अवसर पाउँछ।
लामो समय एक्लै बस्ने, सामाजिक गतिविधिबाट टाढा रहने र अरूसँग सम्पर्क कम गर्ने बानीले मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। त्यसैले परिवार र साथीभाइसँग समय बिताउने, आफ्नो रूचिका समूहमा जोडिने र सामाजिक गतिविधिमा सहभागी हुने गर्नुपर्छ।
द ल्यान्सेट कमिसन– २०२४ ले सामाजिक रूपमा अलग हुनुलाई डिमेन्सियाको कारक मानेको छ। उसले यसलाई परिवर्तन गर्न सकिने १४ जोखिममध्ये एकमा राखेको छ।
प्रतिवेदन अनुसार विश्वभरका डिमेन्सियाका करिब पाँच प्रतिशत घटना सामाजिक रूपमा अलग हुनेसँग सम्बन्धित जोखिमका कारण भएको अनुमान छ।
६. रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्ने
मुटु र रक्तनलीमा देखिने समस्याले दिमागको स्वास्थ्यमा पनि असर पार्छ।
उच्च रक्तचापले दिमागका रक्तनलीमा क्षति पुर्याउन सक्छ। मधुमेह र खराब कोलेस्ट्रोलको मात्रा बढी हुँदा पनि रक्तसञ्चार सम्बन्धी समस्या र डिमेन्सियाको जोखिम बढ्न सक्छ।
त्यसैले रक्तचाप नियमित जाँच गर्नुपर्छ। मधुमेह भए रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुपर्छ। कोलेस्ट्रोल परीक्षण गराउनुपर्छ। चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।
मध्य उमेरमा हुने उच्च खराब कोलेस्ट्रोल पनि डिमेन्सियाको कारण हो। द ल्यान्सेट प्रतिवेदनका अनुसार यसको नियन्त्रणले पनि जोखिम कम गर्छ।
उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
७. कान र आँखाको स्वास्थ्यमा ध्यान दिने, धूमपानबाट टाढा रहने
दिमाग स्वस्थ राख्ने विषयमा धेरैले कान र आँखाको स्वास्थ्यलाई महत्त्व दिँदैनन्। तर सुन्ने र देख्ने क्षमतामा कमी आउँदा व्यक्तिको सामाजिक सहभागिता र दिमागको सक्रियतामा असर पर्न सक्छ।
कान कम सुन्न थालेको छ भने परीक्षण गराउनुपर्छ। आवश्यक परे चिकित्सकको सल्लाहमा श्रवणयन्त्र प्रयोग गर्न सकिन्छ। आँखाको नियमित परीक्षण गर्नुपर्छ। दृष्टि सम्बन्धी समस्या भए उपचार गराउनुपर्छ।
त्यसैगरी धूमपानबाट टाढा रहनुपर्छ। अत्यधिक मदिरा सेवन गर्नु हुँदैन। टाउकोमा चोट लाग्नबाट जोगिनुपर्छ।
द ल्यान्सेट कमिसन–२०२४ ले उपचार नगरिएको श्रवणशक्ति ह्रासलाई डिमेन्सियाको महत्त्वपूर्ण जोखिम कारक मानेको छ। दृष्टि ह्रास, धूमपान र टाउकोको चोट पनि डिमेन्सियासँग सम्बन्धित जोखिम कारक हुन्।
दिमागको स्वास्थ्य जोगाउने काम कुनै एक उमेरमा सुरू गरेर हुने विषय होइन। बाल्यकालदेखि नै राम्रो पोषण र शिक्षा, वयस्क अवस्थामा स्वस्थ जीवनशैली तथा वृद्धावस्थामा नियमित स्वास्थ्य परीक्षण र सामाजिक सक्रियताले जीवनभर दिमागको स्वास्थ्य जोगाउन सहयोग गर्छ।
डिमेन्सियाका सबै कारण रोक्न सकिँदैनन्। तर शारीरिक गतिविधि, पर्याप्त निद्रा, स्वस्थ खानपान, मानसिक सक्रियता र दीर्घरोगको नियन्त्रणजस्ता बानीले जोखिम घटाउन वा रोग सुरू हुने समय ढिलो गर्न मद्दत गर्न सक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)