दाङमा प्रहरीले एकै दिन ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो साढे ३ बजे बबई गाउँपालिका–४ दुर्गाटोलबाट ९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय विनोद सुनार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त परिमाणमा ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले बताए।
सोही दिन दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१५ सहिद गेटका २४ वर्षीय प्रजल श्रेष्ठलाई पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा उनको घरकोठामा खानतलासी गर्दा २ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसपछि बेलुकी साढे ५ बजेतिर प्रहरीले घोराही उपमहानगरपालिका–१६ सुन्दरनगर टोलका ३३ वर्षीय सुनिल थापाको घरमा खानतलासी गरेको थियो। उनको घरबाट १९ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र ४९ हजार रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक पौडेलले बताए।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।