हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीको एउटा पेट्रोल पम्प बाहिर भेटिए ६३ वर्षीय मानबहादुर मोक्तान। त्यहीँका स्थानीय बासिन्दा उनी चिया खाइरहेका थिए।
हामीले उनलाई सोध्यौं—
आफ्नो बारेमा भन्नुस् न, के काम गर्नुहुन्छ?
सानो सानो गाई फर्म छ, गाई पालेको छु। रिखेश्वर गाई फर्म भनेर दर्ता गरेको छु। अहिले गाई धेरै छैनन्। सात–आठ वटा मात्र छन्। दिनमा ७०/८० लिटर दूध बेच्छु।
बजार कस्तो छ, बिक्री सजिलै हुन्छ?
दूध उत्पादन हुनुपर्यो, बिक्रीलाई केही समस्या छैन। बिहानै फर्ममै दूध लिन आउँछन्। हामीले बोकेर बजार लैजानु पनि पर्दैन। फेरि म त मिर्गौला प्रत्यारोपण गरेको मान्छे हो। आफूले बजार लैजान पनि सक्दिनँ।
२०७३ सालमा प्रत्यारोपण गरेको हो।
मिर्गौला खराब भएको कसरी थाहा पाउनुभयो? थाहा पाउँदा के सोच्नुभयो?
अलि अलि मधुमेहको समस्या पहिल्यैदेखि थियो। २०७२ सालमा एक्कासि भूकम्प आउँदा म आत्तिएको थिएँ। त्यति बेलै सुगरले मिर्गौलामा हानेछ। मलाई गाह्रो भएपछि अस्पताल गएर जाँच्दा मिर्गौला खराब भइसकेका रहेछन्।
थाहा पाउँदा डर लाग्यो नि। ला, अब के गर्ने भन्ने भयो। एक वर्षजति भरतपुर गएर डायलाइसिस गरेँ। डायलाइसिस गरिरहनुभन्दा प्रत्यारोपण नै गर्न ठीक लाग्यो। २०७३ सालमा प्रत्यारोपण गरेँ।
बिरामी हुनुभन्दा पहिले के गर्नुहुन्थ्यो?
त्यति बेला पनि फर्म नै थियो। फर्ममा १५० वटा राँगा थिए त्यति बेला।
घरमा को को हुनुहुन्छ?
मेरा तीन छोरा र एउटा छोरी छन्। सबैको बिहे भएर आ–आफ्नो मेसो गरेका छन्। जेठो छोरा काठमाडौंमा क्याफे चलाएर बसेको छ। माइलो छोरा यतै आफ्नो काम गरिरहेको छ। कान्छो छोरा विदेशतिर छ। कान्छी बुहारी र नातिनातिना घरमै छन्। श्रीमती कोभिडको बेला बितिन्। श्रीमती बितेपछि एक्लै जस्तो भइने रहेछ।
फर्म तपाईं एक्लै चलाउनुहुन्छ?
होइन, काम गर्ने मान्छे राखेको छु। मेरो ब्लकको उद्योग पनि छ। त्यता पनि मान्छे छन्। दुईतिर गरेर ८ जनाले काम गर्छन्।
कमाइ महिनामा कति हुन्छ?
कमाइभन्दा पनि दिन बिताउने बाटो गरेको हो। महिनामा दुई–अढाइ लाख हुन्छ होला। त्यहीँ काम गर्नेलाई ज्याला दिँदा ठिक्क हुन्छ। मलाई घर खर्च पनि चलेको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
अहिले मलाई केहीको पनि चिन्ता छैन। छोराछोरीले आफ्नो काम गरिरहेका छन्। श्रीमती जीवित भएको भए मलाई केही भए उनले दुःख पाउँछिन् कि भन्ने हुन्थ्यो होला। उनी बितिहालिन्। एउटा चिन्ता भनेको औषधि समयमा खान सक्छु कि सक्दिनँ भन्ने हो, अरू केही छैन।
औषधी धेरै खानुपर्छ। बिहान, दिउँसो, साँझ तीन थरी खान्छु। सुगर ठिक राख्न साँझै बिहान सुईबाट इन्सुलिन लगाउँछु। औषधि मात्र महिनामा २५/३० हजार रूपैयाँको चाहिन्छ। मिर्गौला प्रत्यारोपण गरेपछि झन् स्वास्थ्यलाई ध्यान दिनुपर्ने रहेछ। सुगरलाई ठीक राख्नुपर्यो। खाना मिलाएर खानुपर्यो। निद्रा पूरा गर्नुपर्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यति बेला त केही मेसो पाउनै सकिनँ। भ्रष्टाचारको विरोधमा युवाहरूले आन्दोलन गर्दै छन् भन्ने त्यही दिन मात्र थाहा पाएको हो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
देशमा बेरोजगारी बढ्यो, धेरै बेथिति भयो, भ्रष्टाचार भयो भनेर रिसाएका थिए। तर अहिले पनि केही सुधार भएजस्तो लागेको छैन।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
बेथितिका विरूद्ध आवाज उठाउनु राम्रो हो। तर जसरी मान्छेहरू मारिए र सम्पत्तिमा आगो लगाइयो, त्यो राम्रो होइन।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
केही राम्रो भएजस्तो लाग्दैन, पहिलेजस्तै छ।
राम्रो भएजस्तो किन लाग्दैन?
के राम्रो भयो त? देशमा बेथिति उस्तै छ। जताततै महँगी छ। ग्यास नपाएर उस्तै छ। युवाहरू विदेश जान पनि छोडेका छैनन्।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
अहिलेको अवस्था हेर्दा त देश बन्छ जस्तो लाग्दैन।
किन लाग्दैन?
खोइ त, आन्दोलन भएको पनि एक वर्ष भयो। केही त सुधार हुनुपर्ने हो। सुधार भएको भए पनि जनताले त थाहा पाउनुपर्ने हो। तर, देश बनाउनुपर्छ। अहिले त दुई तिहाइको सरकार छ। अरूले गर्न दिएनन् भनेर उम्किन मिल्ने अवस्था पनि छैन।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
अहिले पनि मेरो परिवारको अवस्था ठीकै छ। सधैं यत्तिकै चलिरहे हुन्थ्यो। धेरै ठूलो सपना पनि छैन। तर, देशको अवस्था सुधार भए हुन्थ्यो। हाम्रा नातिनातिनी विदेश जान नपरे हुन्थ्यो। देशमै रोजगारी पाएर बस्न पाए हुन्थ्यो।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्त बुझ्दो काम गर्न सकेको छैन?
राम्रो नराम्रो भन्नलाई त केही काम गरेको हुनुपर्यो नि। काम नै गरेको छैन। हुन त भर्खर ५/६ महिना भएको छ, अझै केही समय काम हेरौं।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
खोइ, थाहा नै छैन। मैले राजनीतिबारे धेरै चासो पनि राख्दिनँ।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
राजनीतिको बारेमा धेरै कुरा नगरौं।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
मलाई कुनै पनि नेताप्रति आशा छैन। कसैले पनि देशको लागि गर्छन् जस्तो लाग्दैन। सबै आफ्नो लागि आएका हुन्।
अहिलेका युवाहरूप्रति पनि आशा छैन?
अरूले त वाहवाही गर्छन् तर, मलाई अहिलेका प्रति पनि आशा छैन। अलिअलि रवि लामिछानेप्रति आशा थियो, उनले पनि आँट देखाएनन्।
उनले के आँट देखाउनुपर्थ्यो?
आँट भएको भए अहिले उनी प्रधानमन्त्री बन्नुपर्ने हो। आँट नभएकासँग के आशा गर्नु!
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे