नेपाल क्रिकेट संघ (क्यान) मा ६ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन्।
क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचन प्रक्रियामा ६ जनाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएपछि उनीहरु निर्विरोध चयन भएका हुन्।
चार पदाधिकारी र ५ केन्द्रीय सदस्यका लागि भने पूर्वअध्यक्षद्वय चतुरबहादुर चन्द र विनयराज पाण्डे समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका हुन्।
यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएका छन्। उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन्। केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ। निर्विरोध सबै चन्द समूहका हुन्।
अन्य पदका लागि भने निर्वाचन हुने भएको छ। जसमा अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज पाण्डे, उपाध्यक्षमा राजुबाबु श्रेष्ठ र मिङ्मा डन्डु शेर्पा, सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराई रहेका छन्।
प्रदेशतर्फको केन्द्रीय सदस्यमा प्रदेश १ मा लाक्पा लामा र कैलाश विष्टले उम्मेदवारी दिएका छन्। विष्टले चन्द समूह र लामा पाण्ड समूहबाट उम्मेदवारी दिएका छन्।
यस्तै प्रदेश ३ मा अमिरविर पाण्डे र कैलाश प्रधानले उम्मेदवारी दिएका छन्। पाण्डे चन्द समूह र प्रधान पाण्डे समूहका हुन्।
यता ५ जना खुला केन्द्रीय सदस्यका लागि ११ जनाको उम्मेदवारी पारेको छ। जसमा विरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक, अर्जुन पौडेल, जगत टमाटा, करण क्षेत्री, माधव कर्माचार्य, नरेश राणा, पवन अग्रवाल, प्रफुल्ल वैद्य र सञ्जयराज सिंह रहेका छन्।
क्यानको निर्वाचनका लागि ५९ जना मतदाता रहेका छन्। मतदान १ बजेदेखि सुरु भएर साढे दुई बजेसम्म हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को स्वतन्त्र समितिले क्यानको निर्वाचन गराइरहेको हो।
निर्वाचन सम्पन्न भएपछि बस्ने केन्द्रीय समितिले क्यानको निलम्बन फुकुवाका लागि आइसिसीले अनुरोध गर्नेछ।
आगामी अक्टोबर १३ मा अस्ट्रेलियामा बस्ने आइसिसीको बोर्ड बैठकमा क्यानको प्रस्तावमा छलफल हुँदै २०७३ वैशाखमा गरिएको निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।