वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) मा पोखरा पल्टनले सान्त्वना जित हात पारेको छ। पोखराले सोमबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको हो।
ललितपुर फाल्कोन्स भने लिगका सबै खेलमा पराजित भयो।
दुवै टिम यसअघि लगातार तीन खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिएका थिए।
सोमबार पहिले ब्याटिङ गरेको ललितपुर ७ विकेट क्षतिमा १२२ रन जोडेको थियो। उसका लागि ममता चौधरीले नटआउट ५२ रन जोडिन्। उनले ५१ बलमा ७ चौका प्रहार गरिन्। कविता जोशीले ३१ रन बटुलिन्। बलिङमा पोखराकी सीता रानामगरले २ विकेट लिइन्।
१२३ रनको लक्ष्य पोखराले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
दुवै ओपनर १–१ रनमा गुमाएको पोखराका लागि विन्दु रावल र कविता कुँवरले शतकीय साझेदारी गरेका थिए। उनीहरुले चौथो विकेटका लागि १०६ रनको साझेदारी गरे। रावल ४० रनमा आउट हुँदा कुँवरले नटआउट ६१ रन जोडिन्। रावलले ४२ बलमा १० चौका हिर्काइन्।
लिगमा चितवन राइनोज फाइनलमा पुगिसकेको छ। क्याट क्विन काठमाडौं र विराटनगर टाइटन्सबीच एलिमिनेटरमा खेल हुनेछ।