भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका मध्यक्रममा ब्याट्सम्यान विशालविक्रम केसीले अर्धशतक प्रहार गरेका छन्।
केसीले बुधबार भारत यु-१९ 'ए' टिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।
भारतीय टिमले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेका केसीले १२६ बल खेलेर ७१ रन प्रहार गरे। नेपालका लागि महत्वपूर्ण योगदान दिएका विशालले ११ चौका प्रहार गरे।
यद्यपी नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १४० रन मात्र जोड्दा १०७ रनले पराजित भयो।
हैदरावादस्थित राजीव गान्धी रंगशालामा भएको खेलमा शेर मल्लले २१ रन र आकास चन्दले नटआउट १९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
ओपनर तथा कप्तान रित गौतम ५ रन र उनका ओपनिङ पार्टनर लोकेश बम शून्यमा आउट भए। खडक बोहरा ३ रन, अरुण ंऐरी ७ रन, कुशल मल्ल ०, हरि चौहान ० र प्रतिश जिसी ६ रनमा आउट भउ।
बलिङमा भारतका समिर रिज्भी र समिर कुमारले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतीय टिम ४८.२ ओभरमा २४७ रनमा अलआउट भयो। भारतका लागि कप्तान ध्रुब चन्द जुरेलले ७४ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नेपालका शेर मल्लले ३ विकेट लिए भने आकास चन्दले २ विकेट हात पारे। प्रतिश जिसी र हरि चौहानले १-१ विकेट लिए।
अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार भारतको 'बी' टिमसँग खेल्नेछ। यसअघि 'सी' टिमविरुद्धको खेलमा नेपाल पराजित भएको थियो।
भारतको यु-१९ को ए, बी र सी टिमसहित नेपालको युवा टिम सम्मिलिन प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।