एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ।
थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।
हङकङका लागि ओपनिङ ब्याट्सम्यान निजाकत खानले सबैभन्दा बढी ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का हिर्काए।
ओपनर साहिद वासिफले २९ रन बनाए। उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। जेम्स एटकिनसन १३ रनमा आउट भए।
मोहमद आइजाज खानलाई २९ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए।
बलिङमा नेपालका सन्दीप लामिछाने र सुसन भारीले २-२ विकेट लिए। सन्दीपले ४ ओभरमा २५ रन र सुसनले ३७ रन दिए। सुसनले हङकङका दुवै ओपनरलाई आउट गरे।
कुशल मल्लले १ विकेट हात पारे भने तीव्र गतिका बलरद्वय करण केसी र अभिनास बोहराले विकेट लिन सकेनन्।
यसअघि शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई मलेसियाले हराएको थियो।
प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।