वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले टी-२० क्रिकेटमा एक हजार छक्का पूरा गरेका छन्।
शुक्रबार राति आइपिएल अन्तर्गत किंग्स-११ पञ्जावका ब्याट्सम्यान गेलले राजस्थान रोयल्सविरुद्ध सात छक्का प्रहार गरेसँगै टी-२० क्रिकेटमा एक हजार छक्का पूरा गरेका हुन्।
खेलमा उनले आठ छक्का र छ चौकाको मद्दतमा ९९ रन जोडे। गेल एक रनले शतक बनाउन चुकेको खेलमा उनको टिम पञ्जाव भने ७ विकेटले पराजित भयो।
गेलले अहिलेसम्म ४१० टी-२० खेल खेल्दै १ हजार १ छक्का प्रहार गरेका छन्।
टी-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने सूचीको दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजकै केइरन पोलार्डले ६९० छक्का हिर्काएका छन्। तेस्रो स्थानमा ४८५ छक्का हिर्काएका न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम छन्।
गेल टी-२० मा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि हुन्। उनले १ हजार ४१ चौका हिर्काउँदा दोस्रो स्थानका अस्ट्रेलियाका डेभिड वार्नरले ९४५ छक्का हिर्काएका छन्।
टी-२० मा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान गेलले १३ हजार पाँच सय रन पूरा गरिसकेका छन्।
गेलले आइपिएलमा ३४९ छक्का हिर्काएका छन्। यो कुनै पनि फ्रेञ्चाइज लिगमा सर्वाधिक छक्काको कीर्तिमान हो।
गेल सिपिएल (१६२ छक्का), बंगलादेश प्रिमियर लिग (१३२ छक्का) र टी-२० विश्वकप (६० छक्का) मा पनि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि हुन्।
टी-२० को एकै खेलमा गेलले सबैभन्दा बढी १८ छक्का हिर्काएका थिए। उनले बंगलादेश प्रिमियर लिगमा रंगपुर राइडर्सका लागि ढाका डाइनामिटरविरुद्ध १८ छक्का हिर्काएका थिए।
त्यसअघि उनले सन् २०१३ मा आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका लागि पुने वारियर्सविरुद्ध १७ छक्का हिर्काएका थिए। सो खेलमा उनी १७५ रनमा नटआउट रहेका थिए।