आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ।
बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो।
बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्यो।
युएईका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट ब्याटिङ गरे। दुईबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी भएको थियो।
वासिमले ७६ रनको योगदान गरे। उनले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शाहदादले ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे। तर १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे। आसिफले ४८ बलमा ४ चौका प्रहार गरे। आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो।
२१ औं ओभरमा कप्तान रोहितकुमार पौडेल २ रनमा आउट हुन पुगे। दुई ओभरपछि भीम सार्की पनि ४८ रन जोडेर पेभिलियन फर्के। भीमले ६८ बलमा ७ चौका प्रहार गरे।
आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले। आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए।
अन्तिम ओभरको पाँचौ बलमा आउट भएका कुशल मल्लले ४५ रन बनाए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानले १० बलमा नटआउट १५ रन बनाए।
बलिङमा युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २-२ विकेट लिए।
आजको जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ। नेपालको १२ अंक छ। अंक तालिकामा युएई पुछार अर्थात् आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ। सिरिजमा चारै जितेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ।