युएईमा हुने एसिया क्वालिफायर क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टिमको बिदाइ गरिएको छ।
आइतबार बिहान रूपन्देही क्रिकेट संघले खेलाडी र प्रशिक्षकलाई भैरहवाबाट बिदाइ गरेको हो।
यु–१९ का ३० जना खेलाडीले पछिल्लो १५ दिन भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रशिक्षण लिइरहेका थिए।
३० जना खेलाडीहरूको छुट्टाछुट्टै टिम बनाएर आन्तरिक प्रतिस्पर्धा समेत गराइएको उनीहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ जना खेलाडी छनोट हुने छन्।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा युएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गर्दै छ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि क्यानले अझै आधिकारिक घोषणा नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताए।
एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा एसिया क्वालिफायर हुँदै छ। बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताए।
उनले आफूहरूको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभई क्वालिफायरमा विजेता बन्ने रहेकोले यसका लागि खेलाडीहरू उच्च मनोबलमा रहेको बताए।
बिदाइ कार्यक्रममा पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरी, कार्यसमिति सदस्य प्रथम पराजुली लगायतले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गरेर छनोट खेलको विजेता बन्न शुभकामना दिए।
उनीहरूले कुनै समय क्रिकेटमा भविष्य छैन भन्ने दिन रहेको स्मरण गर्दै अहिले क्रिकेट खेल सबैको मनमा बसेको र राम्रो खेल्ने खेलाडीको भविष्य उज्ज्वल रहेको बताए।
यसैबिच एसिया क्वालिफायरमा विजेता बने यु–१९ टिमलाई रुपन्देही क्रिकेट संघले एक लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। खेलाडी बिदाइ कार्यक्रममा संघका अध्यक्ष हरिबहादुर थापाले उक्त घोषणा गरेका हुन्। यस्तै, पञ्चकन्या समूहले पनि विजेता बने टिमलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।