एसिसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
सोमबार दुबईमा भएको खेलमा नेपालले बंगलादेशसँग ७ विकेट विकेटको पराजय भोग्यो। यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग हारेको थियो।
लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरने संघारमा पुगेको छ। आज श्रीलंकाले अफगानिस्तानले हराएमा नेपाल अन्तिम खेलअघि नै बाहिरिनेछ।
नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले ३ विकेटको क्षतिमा २४.५ ओभरमै पूरा गर्यो।
उसका लागि ओपनर जवाद अबरारले नटआउट ७० रन बनाए। उनले ६८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
सुरुवातमा नेपालले दुई विकेट लिए पनि बंगलादेश त्यसपछि सम्हालिएको थियो।
बलिङमा नेपालका युवराज खत्री र अभिषेक तिवारीले १-१ विकेट लिए।
त्यसअघि टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३१.१ ओभरमा १३० रनमा अलआउट भयो।
नेपालका लागि अभिषेक तिवारीले ३० रन बनाए भने आशिस लुहारले २३ रन जोडे। अरु नेपाली ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन्।
बलिङमा बंगलादेशका मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, अजिजुल हाकिम र शाहरिअर अहमदले २-२ विकेट लिए।
अब नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग बुधबार खेल्नेछ। आज अफगानिस्तानले जित निकालेको अवस्थामा नेपालको सम्भावना हुनेछ। त्यसका लागि नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई नै हराउनु पर्छ।