अष्ट्रेलिया र इङ्गल्याण्डबीच मेलबर्न क्रिकेट मैदानमा भएको 'बक्सिङ डे एशेज टेस्ट' को पिचलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले ‘सन्तोषजनक नभएको’ रेटिङ दिएको छ।
यो खेल जम्मा दुई दिनमै सकिएको थियो। यसबापत मेलबर्न क्रिकेट मैदानले एक 'डिमेरिट' अंक समेत पाएको छ।
आइसिसीको पिच रेटिङ प्रणाली अनुसार, सन्तोषजनक नभएको भन्नाले त्यस्तो पिचलाई बुझिन्छ जसले ब्याटर र बलरबीच सन्तुलित प्रतिस्पर्धा हुन दिँदैन। यस्तो पिचले बलरहरूलाई धेरै मद्दत गर्छ र विकेट झर्ने सम्भावना असाध्यै बढी रहन्छ।
म्याच रेफ्री जेफ क्रोले भने, ‘यो पिच बलरहरूको पक्षमा धेरै ढल्केको थियो। पहिलो दिन २० विकेट र दोस्रो दिन १६ विकेट खसे, र कुनै पनि ब्याटरले अर्धशतकसम्म बनाउन सकेनन्। त्यसैले नियम अनुसार यसलाई 'अन्तोषजनक' मानिएको हो।’
यसअघि लगातार तीन वर्षसम्म मेलबर्नको पिचले ‘धेरै राम्रो’ रेटिङ पाउँदै आएको थियो। क्रिकेट अष्ट्रेलियाका प्रमुख जेम्स अलसोपले खेल छिट्टै सकिएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘तेस्रो र चौथो दिनको टिकट काटेका र विश्वभरका फ्यानहरू पिचमा ब्याट र बलबीचको सन्तुलन नदेख्दा निराश भएका छन्। तर हामीलाई विश्वास छ कि अर्को वर्ष न्युजिल्याण्ड र सन् २०२७ को ऐतिहासिक टेस्ट म्याचमा यहाँको पिच उत्कृष्ट हुनेछ।’
पिच बनाउने मुख्य व्यक्ति (क्युरेटर) म्याट पेजले दुई दिनमै ३६ विकेट झरेको देखेर आफू 'स्तब्ध' भएको बताए। उनले आउने दिनहरूमा धेरै गर्मी हुने मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर पिचमा १० मिलिमिटर घाँस छोडेका थिए, तर खेल सोचेभन्दा उल्टो भयो।
खेल दुई दिनमै सकिँदा क्रिकेट अष्ट्रेलियालाई करिब १० मिलियन अष्ट्रेलियन डलर (करिब ९० करोड नेपाली रुपैयाँ) घाटा हुने अनुमान गरिएको छ। यस्तो अवस्था दोहोरिएपछि क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी टोड ग्रीनबर्गले अब पिच बनाउने काममा बोर्डले पनि केही सुझाव वा हस्तक्षेप गर्नुपर्ने संकेत दिएका छन्।
तर, अष्ट्रेलियाका प्रशिक्षक एन्ड्रयू म्याकडोनाल्डले भने क्युरेटरहरूलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताएका छन्। उनले क्युरेटर म्याट पेजको समर्थन गर्दै भने, ‘कहिलेकाहीँ यस्तो हुन सक्छ, तर हामीले उनलाई डराउनु हुँदैन। हामीलाई हाम्रो टोलीको ब्याटिङमा विश्वास छ, तर यस पटक हामीले राम्रो खेल्न सकेनौं।’