भारतीय स्टार ब्याटर विराट कोहली आफ्नो उत्कृष्ट फर्मका कारण चार वर्षपछि फेरि आइसिसी पुरुष एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्।
आइतबार वडोदामा न्युजिल्यान्डविरुद्ध ९१ बलमा ९३ रनको 'म्याच विनिङ' इनिङ खेलेपछि उनले आफ्नै टोलीका कप्तान रोहित शर्मालाई पछि पार्दै पहिलो स्थान ओगटेका हुन्।
कोहली जुलाई २०२१ पछि पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन्। आफ्नो सानदार खेल जीवनमा कोहली ११औँ पटक नम्बर १ बनेका हुन्। पछिल्लो समय उनले दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा १३५, १०२ र ६५ (नटआउट) जस्ता उत्कृष्ट स्कोर बनाएका थिए भने अस्ट्रेलियाविरुद्ध सिड्नीमा ७४ रनको अविजित इनिङ खेलेका थिए।
कोहलीले पहिलो पटक अक्टोबर २०१३ मा ओडिआई वरीयताको शीर्ष स्थानमा थिए। उनले हालसम्म कुल ८२५ दिन नम्बर १ स्थानमा बिताइसकेका छन्, जुन कुनै पनि भारतीय ब्याटरका लागि सबैभन्दा धेरै हो। विश्वभरको कीर्तिमानमा भने उनी १०औँ स्थानमा छन्। यस सूचीको शीर्ष स्थानमा वेस्ट इन्डिजका महान खेलाडी भिभियन रिचर्ड्स छन्, जो २,३०६ दिनसम्म नम्बर १ बनेका थिए।
न्युजिल्यान्डका ड्यारल मिचेलले पनि रोहित शर्मालाई पछि पारेका छन्। अहिले शीर्ष तीन ब्याटरहरूबीच मात्र १० अंकको अन्तर छ, जसले गर्दा आगामी दिनमा पहिलो स्थानका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ।
एकदिवसीय ब्याटिङमा केएल राहुल ११औँ र डेभन कोन्वे २९औँ स्थानमा उक्लिएका छन्। बलरतर्फ भारतका मोहम्मद सिराज ५ स्थान सुधार गर्दै १५औँ र न्युजिल्यान्डका काइल जामिन्सन ६९औँ स्थानमा पुगेका छन्।
नेपालका ब्याटर भने शीर्ष सय भित्र मात्र छन्। जसमा ९०औं स्थानमा आसिफ शेख, ९१औं स्थानमा कप्तान रोहितकुमार पौडेल र ९९औं स्थानमा आरिफ शेख छन्।