बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत बिहीबार हुने भनिएको चट्टोग्राम रोयल्स र नोआखाली एक्सप्रेसबीचको पहिलो खेल सुरु हुन सकेको छैन।
स्थानीय समय अनुसार दिउँसो १२:३० बजे टस हुनुपर्ने भए पनि दुवै टोली मैदानमा उपस्थित नभएपछि खेल रोकिएको हो। यो खेल दिउँसो १ बजे सुरु हुनुपर्ने तालिका थियो।
म्याच रेफ्री सिपर अहमदले भने, ‘हामी मैदानको बीचमा उभिएका छौँ, तर के भइरहेको छ भन्ने हामीलाई थाहा छैन। यसबारे बिपिएल प्राविधिक समितिले मात्र विस्तृत जानकारी दिन सक्छ।’
बिहीबार बिहानैदेखि ढाका क्रिकेट लिगका खेलहरू पनि सुरु हुन सकेनन्। 'क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले बुधबार साँझ घोषणा गरेको खेलाडी बहिष्कारको निर्णय आजदेखि लागू भएको छ।
बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम. नाजमुल इस्लामले बुधबार खेलाडीहरूप्रति दिएको ‘आपत्तिजनक अभिव्यक्ति’ का कारण यो स्थिति सिर्जना भएको हो। बिसिबीले इस्लामलाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ र ४८ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको छ।
बुधबार इस्लामले भनेका थिए– ‘बंगलादेश क्रिकेट बोर्डले राष्ट्रिय खेलाडीहरूका लागि जुन 'करोडौँ करोड टाका (रूपैयाँ)' खर्च गरेको छ, त्यो रकम नै फिर्ता गर्न लगाउनुपर्छ भन्ने मेरो मान्यता छ।’
यही भनाइका कारण बंगलादेशी खेलाडीहरू आक्रोशित भएका हुन् र उनीहरूले निर्देशकको राजीनामा माग्दै खेल बहिष्कार गरेका हुन्।
खेलाडीहरूको संस्थाले भने इस्लामले राजीनामा नदिएसम्म देशभरका सबै प्रकारका क्रिकेट खेलहरू बहिष्कार गर्ने अडान लिएको छ।
खेलाडीको संस्थाका अध्यक्ष मोहम्मद मिथुनसँग सम्पर्क गरी नाजमुल इस्लामलाई अर्थ समितिको संयोजक पदबाट हटाउने प्रस्ताव राखेका थिए। तर, मिथुनले इस्लामको पूर्ण राजीनामा नआएसम्म बहिष्कार जारी रहने बताए।