भारत र न्युजिल्यान्डबीच बुधबार नागपुरमा भएको पहिलो टी-२० खेलमा भारतले ४८ रनको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको भारतले अभिषेश शर्माको ८४ रन र रिन्कु सिंहको २० बलमा नटआउट ४४ रनको मद्दतमा २३८ रन बनायो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डकाले ७ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि ग्लेन फिलिप्सले ४० बलमा ७८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
खेलका ६ कीर्तिमान
१. अभिषेक शर्माको कीर्तिमानी ब्याटिङ
अभिषेक शर्मा टी-२० क्रिकेटमा सबैभन्दा छिटो ५००० रन पूरा गर्ने खेलाडी बनेका छन्। उनले मात्र २८९८ बलमा यो उपलब्धि हासिल गरेर आन्द्रे रसेलको (२९४२ बल) रेकर्ड तोडेका छन्। यति मात्र होइन उनले २५ बलभन्दा कममा ७ पटक अर्धशतक बनाएका छन्, जुन विश्व क्रिकेटमा साउदी अरबका फैजल खानसँगै सबैभन्दा धेरै हो।
२. सूर्यकुमार यादवको सफलता
भारतीय कप्तान सूर्यकुमार यादव टी-२० मा ९००० रन पूरा गर्ने दोस्रो सबैभन्दा छिटो खेलाडी बनेका छन्। उनले ५९११ बलमा यो रन बनाएका हुन्। यसअघि आन्द्रे रसेलले ५३२१ बलमा यो रन बनाएका थिए।
३. नागपुरमा भारतको रेकर्ड स्कोर
नागपुरमा भएको खेलमा भारतले न्युजिल्यान्ड विरुद्ध २३८ रन बनायो। यो न्युजिल्यान्ड विरुद्ध भारतको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो। यसअघि भारतले न्युजिल्यान्ड विरुद्ध सन् २०२३ मा २३४ रन बनाएको थियो। यसै खेलमा अभिषेक शर्माले २२ बलमै अर्धशतक प्रहार गरे, जुन न्युजिल्यान्ड विरुद्ध भारतीय ब्याटरले बनाएको सबैभन्दा छिटो अर्धशतक हो।
४. 'फिनिसर' रिन्कु सिंहको धमाका
खेलको अन्तिम ओभरहरूमा रिन्कु सिंह निकै आक्रामक देखिएका छन्। १९औं र २०औं ओभरमा उनको ब्याटिङ गर्ने गति (स्ट्राइक रेट) २८७.८३ छ, जुन विश्वमै उत्कृष्ट मानिन्छ। विशेषगरी २०औं ओभरमा उनको स्ट्राइक रेट ३०२.६३ छ। यो सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी मात्र उनीभन्दा अगाडि छन्, जसको स्ट्राइक रेट ३४७.१६ रहेको छ।
५. अर्शदीप सिंहको घातक बलिङ
अर्शदीप सिंह टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलको सुरुवातमै (पहिलो वा दोस्रो ओभरमा) सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। उनले खेलको सुरुवाती ओभरहरूमा २८ विकेट लिइसकेका छन्, जुन जुनैद सिद्दिकी र शाहिन शाह अफ्रिदी (२७ विकेट) को भन्दा बढी हो।
६. न्युजिल्यान्डका स्पिनरहरूको खराब दिन
नागपुरको खेलमा न्युजिल्यान्डका स्पिनरहरू निकै महँगो सावित भए। उनीहरूले ७ ओभरमा ९५ रन खर्चिए (प्रतिओभर १३.५७ को औसत)। न्युजिल्यान्डको क्रिकेट इतिहासमा स्पिनरहरू यति धेरै महँगो भएको यो पहिलो पटक हो।