आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो।
खेलमा अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिएको थियो। रुबिना क्षेत्री र सीता राना मगरको जोडीले सुरुवाती पाँच बलमा चार मात्र जोड्न सके। अन्तिम बलमा छक्का भएको अवस्थामा स्कोर बराबरी हुने अवस्थामा रुबिना क्षेत्रीले चौका प्रहार गर्न सकिन्।
नेपालका लागि रुबिनाले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। सीताले पनि १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै नटआउट २७ रन जोडिन्।
प्रतियोगितामा दश टोली छन् भने शीर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन्।
समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्ड र वेल्समामा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
समूहमा शीर्ष तीन-तीन टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्। आजको हारले नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना पनि कमजो बनेको छ।
रुबिनाले अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा आफूहरूले चाहेकै एरियामा प्रहार गर्न खोजे पनि दुर्भाग्यवश सोचेजस्तो सर्ट लाग्न नसकेको बताइन्।
रुबिनाका अनुसार खेलको मुख्य टर्निङ प्वाइन्ट भनेको बीचको ओभरहरूमा पार्टनरसिप हुन नसक्नु र नियमित अन्तरालमा विकेट झर्नु थियो। विकेट ब्याटिङका लागि अनुकूल (फ्ल्याट) भए पनि बीचमा अनावश्यक रूपमा हतार गर्दा विकेट गएको उनले बताएकी छन्।
नेपाली टोली अहिले ट्रान्जिसन (संक्रमणकाल) मा रहेको र नयाँ खेलाडीहरूलाई मोमेन्टम प्राप्त गर्न धेरै खेलहरूको आवश्यकता पर्ने उनले उल्लेख गरिन्। क्रिकेट संघले लगानी गरिरहेको सन्दर्भमा नतिजाको अपेक्षा छिटो गरिएको हो कि भन्ने उनको बुझाइ छ। सीता राना मगर र आफूलाई यो स्तरमा पुग्न धेरै वर्ष लागेको सम्झिँदै उनले नयाँ खेलाडीहरूलाई पनि धैर्यताका साथ समय दिन र बाहिरबाट धेरै दबाब नदिन आग्रह गरेकी छन्।
अहिले नियमित रूपमा खेलहरू र क्याम्पहरू भइरहेका कारण टोलीको ब्याटिङ, फिटनेस र फिल्डिङमा क्रमिक सुधार आएको उनको भनाइ छ। ब्याटिङमा अहिले रनहरू बनिरहेका छन् र ओपनरहरू सेट हुँदै गएको उनले बताइन्। मिडल अर्डरले अझै केही समय लिएर खेल्न थालेपछि टोली पूर्ण रूपमा सेटल हुने उनको विश्वास छ।
रुबिनाले यसै खेलमार्फत महिला टी-२० आईमा १००० रन पुरा गरे पनि उनी यसमा खुसी छैनन्। टोलीले जित्दा मात्र व्यक्तिगत रेकर्डको महत्त्व हुने उनको धारणा छ। उनले यो माइलस्टोनलाई सानो मान्दै आगामी दिनमा अझै ठूलो उपलब्धि हासिल गर्ने आशा राखेकी छन्।
मैदानमा उपस्थित फ्यानहरूको समर्थनले आफूलाई अत्यन्तै एनर्जेटिक महसुस गराएको र 'गुज बम्प्स'आएको उनले बताइन्। दर्शकहरूको हुटिङका कारण विपक्षी टोलीका बलरहरू पनि केही हदसम्म दबाब भएको उनले अनुभव गरिन। पराजयका बाबजुद पनि नियमित रूपमा समर्थन गर्न आउने समर्थकहरूलाई उनले विशेष धन्यवाद दिएकी छन्।