सन् २०२६ को पुरुष टी-२० विश्वकपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) बीचको विवाद उत्कर्षमा पुगेको छ।
आइसिसीले भारतमा गएर नखेले विश्वकपबाटै हटाइदिने चेतावनी दिए पनि बंगलादेशले आफ्नो अडान परिवर्तन गर्न अस्वीकार गरेको छ।
बुधबार ढाकामा बंगलादेश क्रिकेट बोर्ड, राष्ट्रिय टोलीका खेलाडी र सरकारका खेलकुद सल्लाहकारबीच भएको निर्णायक बैठकले भारतमा नखेल्ने पुरानै निर्णयलाई कायम राखेको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बीसीबीका अध्यक्ष अमिनुल इस्लामले आइसिसीको कार्यशैलीप्रति कडा आपत्ति जनाए।
उनले भने, ‘हामी श्रीलंकामा खेल्ने हाम्रो योजनामै अडिग छौँ। आइसिसीले हामीलाई २४ घण्टे अल्टिमेटम त दियो, तर एउटा विश्वव्यापी संस्थाले यसरी धम्क्याउन मिल्दैन। यदि बंगलादेश नखेल्ने हो भने २० करोड दर्शकले विश्वकप हेर्न पाउने छैनन्, यो आइसिसीकै घाटा हो।’
अध्यक्ष इस्लामले श्रीलंकालाई 'सह-आयोजक' भनिएकोमा पनि प्रश्न उठाउँदै यो केवल एक 'हाइब्रिड मोडल' मात्र भएको र आइसिसीको बैठकमा भएका कतिपय कुराहरू स्तब्ध पार्ने खालको रहेको बताए।
बंगलादेश सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारत नजाने निर्णय क्रिकेट बोर्डको मात्र नभई सरकारकै भएको प्रष्ट पारे। उनले भने, ‘हाम्रो सरकारले नै भारतमा नखेल्ने निर्णय गरेको हो। हामीलाई अझै आशा छ कि आइसिसीले हाम्रा खेलहरू श्रीलंकामा सार्ने अनुमति दिनेछ।’
यसअघि बुधबार बसेको आइसिसी बोर्ड बैठकले बंगलादेशले उठाएको सुरक्षाको चासोलाई खारेज गरिदिएको थियो। आइसिसीले बंगलादेशलाई प्रष्ट भनिसकेको छ— कि भारतमा आएर खेल, कि विश्वकप छाड।'
यदि बंगलादेशले आफ्नो अडान नछाडेमा उसको ठाउँमा स्कटल्याण्डले विश्वकप खेल्ने पक्का जस्तै छ। स्कटल्याण्डले यसअघि छनोट चरण पार गर्न सकेको थिएन, तर बंगलादेश बाहिरिएको खण्डमा उसले 'लक्की ड्र' मार्फत समूह 'सी' मा स्थान पाउनेछ।
विश्वकप सुरु हुन अब तीन हप्ताभन्दा कम समय बाँकी रहँदा बंगलादेश र आइसिसीबीचको यो "शक्ति संघर्ष" ले क्रिकेट जगतलाई नै तरंगित बनाइदिएको छ। अबको केही घण्टामा आइसिसीले बंगलादेशलाई विश्वकपबाट हटाउने औपचारिक घोषणा गर्न सक्ने सम्भावना बढेको छ।