सन् २०२६ को टी-२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा प्रतियोगितामा बंगलादेशले आफ्नो टिम पठाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले उसको ठाउँमा स्कटल्याण्डलाई समावेश गर्ने निर्णय गरेको हो।
यो समूहमा नेपाल पनि छ। अब नेपालले बंगलादेशको सट्टा स्कटल्यान्डसँग फागुन ५ मा मुम्बईमा खेल्नेछ। त्यसअघि इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग प्रतिस्पर्धा हुनेछ।
बंगलादेश क्रिकेट बोर्ले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीहरूलाई भारत पठाउन नसक्ने अडान लिएको थियो। बंगलादेशले आफ्ना खेलहरू भारतको सट्टा श्रीलंकामा सारिदिन आइसिसीलाई आग्रह गरेको थियो।
तर, आइसिसीले प्रतियोगिता सुरु हुन थोरै समय मात्र बाँकी रहेको र भारतमा सुरक्षाको कुनै ठूलो खतरा नदेखिएको भन्दै खेल सार्न नमिल्ने बताएको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद सुरु भएको थियो। भारत र बंगलादेशबीचको बिग्रँदो सम्बन्धका कारण यस्तो भएको बंगलादेशको बुझाइ थियो। त्यसपछि बंगलादेश सरकारले सुरक्षाको चिन्ता देखाउँदै टिमलाई भारत नपठाउने निर्णय गर्यो। तर आइसिसीले भने एउटा खेलाडी र एउटा लिगको कुरालाई विश्वकपको सुरक्षासँग जोड्नु गलत भएको बताएको छ।
आइसिसीले बंगलादेशलाई बिहीबारसम्मको समय दिएको थियो। तर बंगलादेशले अन्तिमसम्म पनि भारत नजाने अडान कायम राखेपछि आइसिसीको आकस्मिक बैठकले बहुमतको आधारमा बंगलादेशलाई प्रतियोगिताबाटै हटाएर स्कटल्याण्डलाई ल्याउने निर्णय गर्यो।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइसिसीमाथि 'दोहोरो मापदण्ड' अपनाएको आरोप लगाएका थिए।
सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि भारतले पाकिस्तान जान अस्वीकार गर्दा आइसिसीले लचकता अपनाएको तर बंगलादेशको सुरक्षा चिन्तालाई भने बेवास्ता गरेको उनको तर्क छ।
बंगलादेश समूह 'सी' मा थियो। अब उसले खेल्ने भनिएका कोलकाता र मुम्बईका खेलहरू स्कटल्याण्डले खेल्नेछ।
बंगलादेशले आइसिसीको यो निर्णयविरुद्ध विवाद समाधान समितिमा जाने बताएको छ। यद्यपि, आइसिसीको बोर्डले बहुमतबाट निर्णय गरिसकेकाले बंगलादेशको लागि पुनरागमनको बाटो निकै कठिन देखिन्छ।
यो विश्वकप आगामी फेब्रुअरी ७ देखि सुरु हुँदैछ। यो निर्णयसँगै बंगलादेशले एउटा ठूलो अवसर गुमाएको छ भने स्कटल्याण्डले अप्रत्याशित रूपमा विश्वकप खेल्ने मौका पाएको छ।