सन् २०२६ को पुरुष टी-२० विश्वकपमा पाकिस्तानको सहभागितालाई लिएर अन्योल सिर्जना भएको छ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले यसबारे अन्तिम निर्णय पाकिस्तान सरकारसँगको छलफलपछि मात्र हुने बताएका छन्।
आइसिसीले बंगलादेशलाई विश्वकपबाट हटाउने निर्णय गरेलगत्तै नक्वीले यस्तो प्रतिक्रिया दिएका हुन्।
भारतमा गएर खेल्न अस्वीकार गरेपछि आइसिसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर निकालेको थियो। नक्वीले आईसीसीले भारतको पक्ष लिएर ‘दोहोरो मापदण्ड’ अपनाएको र बंगलादेशमाथि ‘अन्याय’ गरेको आरोप लगाएका छन्।
नक्वीले पत्रकारहरूसँग भने, ‘हाम्रो सहभागिता सरकारको निर्देशनमा भर पर्छ। प्रधानमन्त्री अहिले देशमा हुनुहुन्न, उहाँ फर्किएपछि हामी अन्तिम निर्णय गर्नेछौँ। हामी आईसीसीको होइन, सरकारको निर्णय मान्छौँ।’
उनले अगाडि थपे, ‘बंगलादेशमाथि अन्याय भएको छ। कुनै एउटा देश (भारत) लाई जे मन लाग्यो त्यही गर्न दिने र अरूलाई चाहिँ दबाब दिने, यस्तो दोहोरो मापदण्ड हुनुहुँदैन। बंगलादेश क्रिकेटको मुख्य हिस्सेदार हो, उनीहरूले विश्वकप खेल्न पाउनुपर्थ्यो।’
सन् २०२६ को टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। बंगलादेशका सबै खेलहरू भारतमा हुने तय थियो। तर, पछिल्लो समय भारत र बंगलादेशको सम्बन्ध चिसिएका कारण बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नसक्ने बताएको थियो।
विशेषगरी जनवरी ३ मा भारतीय क्रिकेट बोर्डले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको थियो। बंगलादेशले पटक-पटक आईसीसीलाई भारतबाहिर खेल गराउन अनुरोध गरे पनि आइसिसीले मानेन र अन्ततः बंगलादेशलाई हटाएर उसको ठाउँमा स्कटल्याण्डलाई समावेश गर्यो।
पाकिस्तानले यसअघि नै बीसीसीआई र आईसीसीसँगको सहमति अनुसार आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्ने तय भएको थियो। फेब्रुअरी ७ मा नेदरल्याण्ड्ससँग पाकिस्तानको पहिलो खेल हुने तालिका छ।
तर, बंगलादेशको समर्थनमा पाकिस्तानले विश्वकप नै बहिष्कार गर्न सक्ने सङ्केत नक्वीले दिएका छन्। उनले भने, ‘यदि सरकारले नखेल भन्यो भने हामी खेल्दैनौँ, त्यसपछि आईसीसीले हाम्रो सट्टा २२औँ टिम खोज्नुपर्ने हुन्छ।’