आइसिसी टी-२० विश्वकपको श्रीलंकाको तयारी नेपालले जितका साथ अन्त्य गरेको छ।
यसअघिका अभ्यास खेलमा लगातार पराजय भोगेको नेपालले श्रीलंका ‘ए’ विरुद्धको अभ्यास सिरिजको अन्तिम खेलमा जित निकालेको छ।
शनिबार भएको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो।
श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो।नेपालको इनिङ्समा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रन बनाए।
यस्तै, आरिफ शेखले अविजित २४ रन तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १७ रन जोडे।
यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। चमिका करुणारत्नेले सर्वाधिक ३८ तथा निरोशन डिक्वेलाले ३३ रन बनाए।
बलिङमा नेपालका लागि शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिएर ४ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने नन्दन यादव र रोहित पौडेलले १-१ विकेट हात पारे।
अब नेपाली टोली अन्तिम तयारीका लागि भारतमा आउनेछ। भारतको मुम्मईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन अभ्यास टी-२० खेलहरूको सिरिज खेल्ने तालिका छ।
मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस स्कटल्यान्ड, १७ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई