पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले सन् २०२६ को टी-२० विश्वकपमा पाकिस्तानको सहभागिता हुने वा नहुने भन्ने निर्णय आगामी 'शुक्रबार वा सोमबार' सम्मका लागि सारेका छन्।
सोमबार प्रधानमन्त्री शहबाज सरिफसँगको भेटपछि नक्वीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्रीले सबै विकल्पहरूलाई खुला राख्दै यस विषयमा निर्णय लिन निर्देशन दिएका छन्।
यो विवाद बंगलादेश क्रिकेट टोलीसँग जोडिएको छ। बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा गएर खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले बंगलादेशलाई हटाएर उसको ठाउँमा स्कटल्याण्डलाई राख्ने निर्णय गरेको थियो।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नक्वीले यसको कडा विरोध गरेका थिए। उनले आइसिसीले भारतलाई काखा र अरूलाई पाखा गर्ने ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएका थिए।
बंगलादेशलाई विश्वकपबाट हटाउनु अन्यायपूर्ण भएको र उनीहरूका लागि पनि पाकिस्तानको जस्तै (भारत बाहिर) वैकल्पिक स्थानको व्यवस्था हुनुपर्ने पाकिस्तानको माग छ।
अहिलेको चर्चा अनुसार पाकिस्तानले पूरै विश्वकप बहिष्कार गर्नुको सट्टा फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारतविरुद्धको खेल मात्र नखेल्ने सम्भावना बलियो छ। यो आइसिसीविरुद्ध पाकिस्तानको एउटा ठुलो सांकेतिक विरोध हुन सक्छ।
विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा नेदरल्याण्ड्ससँग हुँदैछ। तर पाकिस्तानले आफ्नो सहभागिताको निर्णय खेल सुरु हुनुभन्दा ४-५ दिन अगाडि मात्र लिने देखिएको छ, जसलाई निकै ढिलो मानिएको छ।
भारत र बंगलादेशबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले भारतमा खेल्न असुरक्षित रहेको बताएको थियो। पाकिस्तानले यस मुद्दामा बंगलादेशलाई साथ दिए पनि अन्य देशहरूले भने यसमा मौनता साधेका थिए। पाकिस्तान आफैँले पनि आफ्ना सबै खेलहरू भारतमा नभई श्रीलंकामा खेल्ने तालिका छ।