एकदिवसीय टोलीमा लगातार मौका पाए पनि आरिफ शेखलाई नेपालको टी-२० टोलीमा पर्न संघर्ष गर्न पर्यो। एकदिवसीय खेलाडीको ‘ट्याग’ तोड्न उनले टी-२० फर्स्याटमा परिस्थितिअनुसार आफ्नो खेल शैली पनि परिवर्तन गरे।
अघिल्लो विश्वपमा टोलीमा नरहेका मध्यक्रमका ब्याटर र पार्टटाइम बलर आरिफले भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ खेल्दा आफ्नो पहिलो विश्वकपको अनुभव लिनेछन्।
पूरा नाम: मोहमद आरिफ शेख
जन्म: अक्टोबर ४, १९९७, वीरगन्ज
उमेर: २८ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: दाहिने हाते मध्यम गति
भूमिका: मध्यक्रमका ब्याटर
नाता: आसिफ शेख (भाइ)
टी-२० आई डेब्यू: नेदरल्याण्ड्स विरुद्ध नेपाल, लर्ड्स — जुलाई २९, २०१८
आरिफ शेख राष्ट्रिय प्रतियोगिताबाट चर्चामा आएका क्रिकेटर हुन्। उनले २०७१ सालमा क्षेत्र नम्बर २ वीरगन्जका लागि उत्कृष्ट खेले। ६ खेलमा २६२ रन र ११ विकेट लिए। यो प्रदर्शनले राष्ट्रिय चर्चा पाउनु स्वभाविक नै थियो। त्यसैले राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दसानायकले राष्ट्रिय टोलीमा स्थान दिए। उनलाई मलेसियामा भएको एसिसी प्रिमियर लिगका टोलीमा बोलाइयो।
हुन त आरिफले उमेर समूहका लागि पनि प्रभावशाली खेल देखाइसकेका थिए। सन् २०१४ मा यू–१९ राष्ट्रिय क्रिकेट टिममा परेसँगै उनले युएईमा एसिसी यू–१९ एसिया कप खेले। त्यसैवर्ष उनले हङकङविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
भाइ आसिफ पनि उनीसँगै २०१७ मा नेपालको राष्ट्रिय टिममा परेका थिए। त्यतिबेला आरिफ र आसिफ दुबै जनाले बंगलादेशमा भएको एसिसी इमर्जिङ नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगिता एकदिवसीय भए पनि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका यू-२३ टिमले भाग लिएका थिए।
शेख दाजुभाइले त्यतिबेला हङकङविरूद्ध सँगै खेलका थिए। सो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। आरिफ र आसिफ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने दोस्रा दाजुभाइ हुन्।
यसअघि विराटनगरका मञ्जित र युनिल श्रेष्ठको दाजुभाइ जोडीले पनि नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। श्रेष्ठ दाजुभाइले सन् २००२ मा हङकङमा भएको तीनदिवसीय प्रतियोगिता खेलेका थिए।
यो वर्ष शेख दाजुभाइले अर्को कीर्तिमान बनाएका छन्। नेपालका लागि टी-२० विश्वकप टोलीमा पर्ने उनीहरु पहिलो दाजुभाइ क्रिकेटर बनेका छन्। अब दुवैले टी-२० विश्वकपको प्लेइङ-११ मा परेमा अर्को कीर्तिमान बन्ने पक्का छ।
शेख वीरगञ्जका हुन्। उनका बुबा मोहमद सलाम शेख पेसाले मेकानिकल ईन्जिनिनर हुन्। उनी वीरगन्जमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन्। घरको क्रिकेट वातावरण राम्रो भएका कारण आरिफले क्रिकेट सिक्नका लागि धेरै संघर्ष भने गर्न परेन। आफूसँगै भाइ आसिफलाई पनि सँगै क्रिकेट वातावरण भिजाए। त्यसैको नजिता अहिले दुवै दाजुभाइ राष्ट्रिय टोलीमा छन्।
बुबाको प्रेरणाले क्रिकेटमा लागेका आरिफको परिचय भनेको उनी मध्यक्रममा धैर्यपूर्वक ब्याटिङ गर्दै रन बनाउन सक्छन्।
टोली संकटमा परेको बेलमा उनमा विकेट टिकाइराख्ने क्षमता छ। तर टी-२० मा सुस्त ब्याटिङ गर्दा उनको कहिलेकाँहि आलोचना पनि हुने गरेको छ। त्यसैले उनले पछिल्ला वर्षमा टी-२० मा मौका पाएको बेलमा ठूला सर्ट खेल्ने गरेका छन्।
दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा उनले सुदूरपश्चिम रोयल्स र त्यसअघि भएको विश्वकप छनोटमा केही खेलमा उनको प्रदर्शन गज्जबको थियो। त्यसैले उनलाई एकदिवसीय टोलीमा मात्र होइन टी-२० टोलीमा पनि अवसर दिइयो।
सुरूवाती ब्याटरले राम्रो खेलेको बेला उनको खोजी नहुनु स्वभाविक छ। तर जब टोलीको ब्याटिङ संकट पर्छ, त्यतिबेला खोजी हुने पहिलो खेलाडी आरिफ नै हुने गर्छन्। त्यसैले मौका पाएमा आइसिसी टी-२० विश्वकप २०२६ आरिफका लागि आफ्नो उपयोगिता सिद्ध गर्ने अवसर छ।