काठमाडौंमा जारी पीएम कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलहरूमा ब्याटरहरूको दबदबा कायम रहँदा एकै दिन तीनवटा शतक प्रहार भएका छन्।
प्रतियोगिताको पंकजप्रसाद पन्तको उत्कृष्ट शतकको मद्दतले फोरेभर क्रिकेट ब्वाइज क्लबले डिभाइन क्रिकेट क्लबलाई १४७ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको फोरेभरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो, जसमा पंकजले ९९ बल खेल्दै १०२ रनको अविजित शतकीय पारी खेले।
२४९ रनको लक्ष्य पछ्याएको डिभाइन क्रिकेट क्लब ३१.१ ओभरमा मात्र १४७ रनमा अलआउट भयो। फोरेभरका लागि जतिन थापाले ६ विकेट लिए भने पंकजले बलिङतर्फ पनि ३ विकेट चट्काए। पंकज प्रसाद पन्त खेलको 'प्लेयर अफ द म्याच' घोषित भए।
हिमालयन क्रिकेट एकेडेमीले चखन्डोल युवा क्लबमाथि ३६४ रनको विशाल जित हात पारेको छ। यस खेलमा दुईवटा व्यक्तिगत शतकहरू बने। हिमालयनका लागि अभिषेक बुढाऐरले १५२ रन र किरण दौल्यालले १४९ रनको विस्फोटक पारी खेलेपछि टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ४२२ रनको विशाल योगफल तयार पारेको थियो।
चखन्डोल युवा क्लब १९.३ ओभरमा ५८ रनमै अलआउट हुन पुग्यो। अभिषेक बुढाऐर खेलको 'प्लेयर अफ द म्याच' चुनिए।
दिनको अर्को रोचक खेलमा न्यु भिजन क्लबले नेक्सस क्रिकेट एकेडेमीलाई ५ रनको झिनो अन्तरले हराएको छ। पहिले ब्याटिङ गरेको न्यु भिजन १७८ रनमा समेटिएको थियो। १७९ रनको लक्ष्य पछ्याएको नेक्सस क्रिकेट एकेडेमीले ४१.५ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।
नेक्ससका लागि प्रिन्स कुमार सिंहले ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेक्ससका रोमन बिस्टले बलिङमा ४ विकेट लिएका कारण हारका बावजुद उनी 'प्लेयर अफ द म्याच' चुनिए।